कांग्रेसको बैठकमा विधान र १४औँ महाधिवेशनमा आफू अनुकूलको व्याख्या

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशनलाई लिएर आफू अनुकूल विधानको ब्याख्या गर्नुका साथै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

आफूलै बनाएको विधानको कांग्रेसका नेताहरूले आलोचना गरेका हुन् । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले १४औँ महाविधेशनमा जाने कुरा गरे पनि स्पष्ट रुपमा विधान कार्यान्वयनका विषयमा बोल्न नसकेको एक नेताले बताए ।

नेपाली कांग्रेसको विधान ७२ को (४) र १४औँ महाधिवेशनका बारेमा बैठकमा नेताहरूले धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा.रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा.नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा.डिला संग्रौला, सरिता प्रसाइँ, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो विचार व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

केही सदस्यहरूले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् ।

केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् । केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफ केन्द्रित भएपनि निष्कर्षमा भने पुगिनसकिएको बताएका छन् ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कार्यतालिकाअनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए । उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए ।

असार २२ गतेदेखि शुरू भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ ।

बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये नियमावलिको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरि नियमावली मस्यौंदा समितिलाई नै फिर्ता पठाइसकेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन १३ गते सोमबार दिउँसो २ बजे पुनः बस्नेछ ।

यसैबीच, नेपाली कांग्रेसले डोटीका पूर्व महाधिवेशन प्रतिनिधि, जिविसका पूर्व सदस्य एवं नेपाल किसान संघका केन्द्रीय सदस्य ५६ वर्षीय दुर्गाप्रसाद फुलाराको साउन ११ गते निधन भएकोमा समवेदना प्रकट गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको साउन १२ गते र धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. ४ का वुथ प्रतिनिधि रामशरण महतोको साउन ३ गते भएको निधनप्रति केन्द्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ ।

‘उहाँहरूले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्दछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।’

Published : Sunday, 2019 July 28, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया