नवलपरासी कांग्रेसमा ‘मुन्ना भाई’को आतंक, न्याय माग्न काठमाडौं आए सबै नेताहरू

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीलाई विवादित बनाएर केन्द्रीय सदस्य एवम् सांसद देवेन्द्रराज कँडेल ‘मुन्ना भाई’ले एकलौटी गर्न खोजेको भन्दै पार्टीका जिल्ला नेताहरूले विरोध जनाएका छन् ।

नवलपरासी कांग्रेसका कार्यबाहक सभापति अर्जुनप्रसाद पोखरेलसहितको टोलीले सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेर विवाद समाधानका लागि आग्रह गरेको हो । सभापति देउवाले नवलपरासीका सभापतिको विषयमा साथीहरूसँग सल्लाह गरेर उचित निर्णय लिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कँडेलले लोकतान्त्रिक फोरमका नेता सुवास गिरीलाई जिल्ला सभापति बनाउन खोजेका छन् । गिरी गत निर्वाचनका बेला नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनेको छ ।

सो समितिले छलफल, परामर्श र अन्य गृहकार्य गरिरहेका बेला केन्द्रीय सदस्य एवम् सांसद कँडेलले पावर देखाएर नवलपरासीका कार्यबाहक सभापति पोखरेललाई हटाएर लोकतान्त्रिक फोरमका नेता गिरीलाई जिल्ला सभापति बनाउन खोजेपछि विवादले उग्ररुप लिएको छ ।

केन्द्रीय सदस्य कँडेलले सभापति देउवालाई प्रभावमा पारेर एक मिहना अगाडि नै नवलपरासीको जिल्ला सभापतिको पत्र थमाउन खोजेका थिए ।

तर, अन्य नेताहरूले लोकतान्त्रिक फोरमको समायोजन प्रक्रिया सहज रुपले अगाडि बढिरहेका बेला नवलपरासीमा मात्रै केन्द्रीय सदस्य कँडेलको दवावमा सुवास गिरीलाई जिल्ला सभपाति नियुक्ति गर्दा त्यसको नकारात्मक असर पर्ने सुझाव दिएपछि देउवा पछाडि हच्किएका थिए ।

नवलपरासी जिल्लालाई टुक्र्याएर दुई वटा बनाइएको थियो । नवलपरासी कांग्रेसका सभापति नवलपुरमा परेका थिए ।

नवलपरासीमा सभापति खाली भएपछि अर्जुनप्रसाद पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो । बहुमत सदस्यले पोखरेल कार्यबाहक सभापति भएकाले उनैलाई नै सभापति बनाउनुपर्ने माग राख्दै आएका छन् ।

तर, केन्द्रीय सदस्य कँडेलले पोखरेललाई हटाएर सुवास गिरीलाई सभापति बनाइ नवलपरासी कांग्रेस कब्जा गर्ने योजनामा रहेको जनाइएको छ ।

नलवपरासी कांग्रेसका नेताहरूले सभापति देउवाका साथै बालकृष्ण खाँण, विमलेन्द्र निधि, विजय गच्छदारसहितका नेताहरूलाई भेटेर पोखरेललाई अन्याय नगर्न दवाव दिएका छन् ।

उनीहरूले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूलाई पनि भेटेर नवलपरासीको विवाद समाधानका लागि दवाव दिनेछन् ।

नवलपरासी कांग्रेसको विवाद समाधानका लागि दवाव दिन कार्यबाहक सभापति अर्जुनप्रसाद पोखरेल, सुनवल नगरपालिकाका मेयर भरत थापा, परासी नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, पूर्वसांसद देवकरण कलवार, बिक्रम खनाल, विक्रम यादव, कुलदीप आचार्य, उमेश यादवसहित एक दर्जन नेताहरू काठमाडौं आएका छन् ।

Published : Sunday, 2019 July 28, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया