दुईतिहाईको सरकारलाई कांग्रेसको आवश्यक्ता, भित्रभित्रै साथ खोज्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेचैन भएका छन् । उनका अभिव्यक्तिहरू प्रत्येक दिन फरक फरक हुने गरेका छन् । कुनै पनि विषयमा दाहालले चित्त बुझ्ने गरेर जवाफ दिन छाडेका छन् ।

तत्कालीन एमालेसँग आफ्नो पार्टी माओवादी केन्द्रलाई मिसाउने क्रममा भएका सहमति नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट उल्लंघन हुन थालेपछि दाहाल चिन्तित हुन पुगेका हुन् । पार्टी समायोजन पनि झण्डै डेढ वर्षपछि भएको छ । त्योपनि अझै थुप्रै विभाग र जिम्मेवारीमा दाहालले अडान छाडेपछि भएको छ ।

पार्टी एकीकरण गर्दा दाहालले शान्ति प्रक्रियाका बाँकी विषयहरू टुंग्याउने सहमति ओलीसँग गरेका थिए । ओलीले शान्ति प्रक्रियाको विषयमा हात हाल्नै चाहेका छैनन् । दाहालले चाहेअनुसार शान्ति प्रक्रियाको बाँकी विषयमा पनि काम हुन सकेको छैन ।

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न गठन हुन लागेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले रोजेको व्यक्ति चयन गर्न ओलीले संकेत दिएको स्रोतको भनाइ छ । ओलीले दाहालले रोजेको व्यक्ति नै सत्य निरुपणको अध्यक्ष हुने प्रतिबद्धता जनाएको जनाइएको छ ।

ओली र दाहालबीचको पछिल्लो सहमतिअनुसार सत्य निरुपण नेकपाले लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई भने बेपत्ता छानबिन आयोगको अध्यक्ष रोज्ने जिम्मेवारी दिइनेछ ।

ओली र दाहालले यसबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् । देउवाले बेपत्ता आयोग लिन अस्वीकार गरिरहेकाले दुवै आयोगको अझै नेतृत्व चयन हुन सकेको छैन । दुवै आयोग गत चैत मसान्तदेखि नेतृत्वविहीन अवस्थामा छन् ।

एमाले निकटका नेताहरूले अधिवक्ता एवम् एनजिओकर्मी गोविन्द बन्दीलाई सत्य निरुपणमा नेतृत्व दिन चाहेका छन् । नेपाली कांग्रेसले सूर्य ढुंगेललाई बेपत्ता आयोगको नेतृत्वमा लैजान खोजेको छ ।

नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अनौपचारिक कुराकानीका क्रममा दाहालले रोजेको व्यक्तिलाई सत्य निरुपणमा राख्नुपर्ने बताउने गरेका छन् ।

गोविन्द बन्दीप्रति दाहाल सकारत्मक छैनन् । गोविन्द बन्दी माओवादीका कट्टर आलोचक मानिन्छन् । असार १२ गते खुमलटार पुगेर गोविन्द बन्दीले विगतका कुरा बिर्सन दाहाललाई अनुरोध गरेका थिए । उनले दाहाललाई नयाँ परिस्थितिअनुसार चल्न सुझाएका थिए ।

शान्ति प्रक्रिया टुंगोगमा पुग्न नसक्दा माओवादी पृष्ठभूमि भएका नेकपाका नेताहरूलाई विदेश भ्रमणमा निस्कन तनाव भइरहेको छ । युद्ध अपराध र मावनअधिकार हननको अभियोगमा युरोपियन युनियन र अमेरिकनहरूले विदेश भ्रमणका क्रममा जति बेला पनि पक्राउ गर्न सक्ने भन्दै माओवादी नेताहरू डराउने गरेका छन् ।

त्यति मात्रै होइन माओवादी नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही गर्नेसम्मको तयारी एमाले पृष्ठभूमि भएका अधिकारकर्मीहरूले चलाएका एनजिओ र आइएनजिओहरूले भित्रभित्रै हर्कत गरेपछि नेकपाका दोस्रो तहका अध्यक्ष दाहालसहितका नेताहरूको मनमा चिसो पसेको छ ।

नेपाली कांग्रेसलाई हरेक ठाउँमा पेलानमा पार्दै गएको दुईतिहाइको कम्युनिस्ट सरकारले देउवालाई फकाएर शान्ति प्रक्रियाको बाँकी काम भित्रभित्रै मिलाउन खोजेका छन् ।

तर, नेपाली कांग्रेसले अहिलेकै अवस्थामा शान्ति प्रक्रियालाई टुंग्याउने पक्षमा खासै चासो देखाएको छैन । कांग्रेसको अनिच्छापछि दाहाललाई सबैभन्दा धेरै तनाव भएको छ ।

यस्तै अवस्या रह्यो भने अन्तर्राष्ट्रिय युद्ध अपराध अदालतबाट जेलसम्म जाने अवस्था दोस्रो तहका अध्यक्ष दाहालसहितका नेताहरूलाई आउन सक्ने चर्चा हुन थालेको छ ।

Published : Sunday, 2019 July 28, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया