शीर्ष नेताकै पत्नीको मन्त्री पद धरापमा, भ्रष्ट मन्त्रीहरूका दिन खराब

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेताहरूले प्रदेश २ सरकारमा सहभागी पार्टीका मन्त्रीहरूले गलत कार्य गरेको भन्दै फिर्ता बोलाउन सुझाव दिएका छन् ।

राजपाको बिहीबार बसेको अध्यक्षमण्डल, पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकमा नेताहरूले प्रदेश २ मा राजपाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको गतिविधि अराजक र भ्रष्टाचारतिर सक्रिय रहेको भन्दै फिर्ता बोलाउनुपर्ने माग उठेको हो ।

बैठक बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको थियो । बैठकमा धारणा राख्ने केही नेताहरूले राजपाका प्रदेश मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको बताइका हुन् ।

भ्रष्टाचार गर्ने ती मन्त्रीहरूलाई कारबाही गरेर फिर्ता नबोलाउने हो भने प्रदेश २ मा राजपाको अवस्था दैनिय हुने नेताहरूले धारणा राखेको स्रोतले जनाएको छ ।

मन्त्रीहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप पार्टीभित्रैका सांसदले लगाउँदै आएका छन् । पार्टीको बैठकमा समेत यस्तो माग उठेपछि नेतृत्व दबाबमा परेको छ ।

बैठकमा सहभागी सयभन्दा बढी नेताहरूले पार्टी नेतृत्वसँग प्रदेश २ मा सहभागी पार्टीका मन्त्रीलाई फिर्ता बोलाउन माग गरेका छन् । अधिकांश नेताहरूले मन्त्रीका कामकारबाहीको आलोचना गरेका थिए ।

प्रदेश २ को मन्त्रीमण्डलमा राजपाका तर्फबाट तीन जना मन्त्री र तीन जना राज्यमन्त्री छन् । जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री, नवलकिशोर साह सामाजिक, शिक्षा विकास मन्त्री र रामनरेश राय वन, पर्यटन तथा उद्योगमन्त्री छन् ।

भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा डा. डिम्पल झा, समाजिक, शिक्षा विकास राज्यमन्त्रीमा अभिराम शर्मा र वन, पर्यटन तथा उद्योग राज्यमन्त्रीमा सुरेश मण्डल रहेका छन् ।

डिम्पल झा राजपा नेपालको अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाकी पत्नी हुन् ।

राजपाबाटै सामाजिक विकास मन्त्री बनेका नवलकिशोर साहमाथि विभिन्न शीर्षकको बजेट रकमान्तर गरी आफ्नो क्षेत्रमा लगेको आरोप लागिसकेको छ ।

वन, पर्यटन तथा उद्योगमन्त्री रामनरेश राय यादवमाथि मन्त्रालय राम्रोसँग सम्हाल्न नसकेको, बजेट परिचालन गर्न नसकेको र यस मन्त्रालयबाट हालसम्म कुनै पनि विधेयक ल्याउन नसकेको आरोप लाग्दै आएको छ ।

Published : Sunday, 2019 July 28, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया