पर्यटन मन्त्री बन्न क–कसको दौड ? शर्माले ताके गृह

काठमाडौं । पर्यटन मन्त्रालय भदौदेखि नेतृत्व विहीन छ । राज्यमन्त्रीको भरमा पर्यटन मन्त्रालय चल्दै आएको छ । हेलिकप्टर दुर्घटनामा भदौ १५ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि यो मन्त्रालय नेतृत्व विहीन बनेको हो ।

यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पासँग पाथीभरा पुगेका बेला मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेर हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो ।

पाथीभरा मन्दिरसम्म केवुल कारको योजना बनाएका शेर्पाले नै मन्त्री अधिकारीलाई मन्दिरको दर्शन गराउन लगेका थिए । शेर्पाको परिवार अझै पनि पाथीभरामा केवलकार लगेर उनको सपना पूरा गर्ने अभियानमा लागेको छ ।

यतिबेला मन्त्री विहीन रहेको पर्यटन मन्त्रालय ताक्नेहरूमा नेकपाका थुप्रै सांसदहरू देखिएका छन् । पर्यटन मन्त्री ताक्नेमा एमाले पृष्ठभूमिका महेश बस्नेत, प्रेम आले, पार्वत गुरुङ र योगेश भट्टराई रहेका छन् ।

भट्टराईले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई पर्यटनमा पठाएर सञ्चार मन्त्रालय आफूलाई दिनुपर्ने लविङ गर्दै आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीपनि यी सांसदहरूबाटै मन्त्री बनाउने तयारीमा रहेको दाबी गरिएको छ ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफू निकट पूर्व माओवादीका नेताहरुलाई मन्त्री बनाउन चाहिरहेका छन् । प्रचण्डले प्रभु साह र जनार्दन शर्मालाई मन्त्री बनाउन चाहेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले आफ्नो योजना अनुसार काम नगरेको भन्दै प्रचण्डले थापालाई फिर्ता बोलाई शर्मालाई गृहमन्त्री बनाउन चाहन्छन् ।

Published : Saturday, 2019 July 27, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया