असल राजनीतिज्ञको आवश्यक्ता छः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भनसुन उद्योग शुरू भएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमा सभापति देउवाले नेपालमा सबैभन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताए । उनले लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको बताए ।

‘नेपालमा भनसुन उद्योग शुरू भइसक्यो’, उनले भने, ‘सबैभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो ।’

उनले भने, ‘जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन गर्ने मान्छे नभए फेल गर्दिन्छन् ।’

नेपाली कांग्रेसका सभापति देउवाले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको बताए । उनले भने, ‘दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएका छ ।’

‘भ्रष्टाचार बढेको छ, सुशासन कायम हुन सकेको छैन’, उनले भने, ‘मुलुकमा असल राजनीतिज्ञको आवश्यकता छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूको उपस्थिति थियो ।

सभापति देउवाले कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरू’ नामक पुस्तकको लोकार्पण गरेका थिए ।

Published : Saturday, 2019 July 27, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया