विमानस्थलभित्र वाइड बडी सम्झाउने जस्तै अर्काे काण्ड, कम्युनिस्टहरू मालामाल

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको संरचनामा लैजान २३ करोड रुपैयाँ छुट्याएर धमाधम काम गरिरहेको छ ।

प्रधानमन्त्री केपी ओली कै चाहनामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी विमानस्थलाई आकर्षक र सुविधासम्पन्न बनाइ पर्यटकलाई आकर्षित गर्न बुटिकको अवधारणा ल्याइएको थियो ।

बुटिकसम्बन्धि कार्यविधि बनाएर कार्यान्वयन पनि भइरहेको छ । विमानस्थललाई बुटिक एयरपोर्ट बनाउनका लागि झण्डै डेढ करोड रकम खर्च भइसकेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नै सञ्चार माध्यममा बोलिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारी निकट व्यापारी अनिल थमनलाई मूल्यको प्रतिष्पर्धा नै नगरी एकलौटी रुपमा काम गर्न दिएको छ ।

विमानस्थलभित्रका भित्ताहरुमा बुटिक बनाउने भन्दै थुन्सेमा पराल, थान्का, मुकुट, गाग्री, मादललगायतका सामाग्रिहरु राखेर प्रदर्शनी हल जस्तो बनाइएको छ । यसका लागि मात्रै १ करोड २६ लाख रकम खर्च भइसकेको छ । जसका कारण विमानस्थलकै बेइज्जत भएको छ ।

प्रस्थान कक्षको अध्यागमन पश्चात सुरक्षा जाँचसँगै रहेको साँच्चिकै बुटिक झल्किएको भित्तालाई बारेर व्यापारीलाई पसल राख्न दिइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रको सिभिल इन्जिनियरिङ जस्तो महत्वपूर्ण विभागलाई प्रमुख विहीन बनाई सात तहका चन्द्रमणि सापकोटालाई लामो समयदेखि निमित्तको जिम्मेवारी दिएर राखेको छ ।

भएका योग्य र दक्ष जनशक्तिलाई पाखा लगाई बुटिकसँग सम्बन्धित इन्जिनियरिङ विभागलाई निमित्तकै भरमा त्यसमाथि पनि जुनियर कर्मचारीलाई राखेर काम गराएपछि प्रधानमन्त्री ओलीले घोषणा गरेको बुटिक एयरपोर्टको संरचना अन्यौलमा परेको विमानस्थलकै अधिकारीकारीहरू बताउँछन् ।

असाधरण, अनौठो, नयाँपन र नेपालीपनका साथ जाहाँ नेपालको इतिहास र आधुनिकता झल्किन्छ, त्यसलाई नै प्रधानमन्त्री ओलीले बुटिक एयरपोर्ट भनेका थिए । तर, थुन्सेमा पराल र खेलौना झुड्याएकै भरमा त्यसलाई बुटिक भन्न मिल्छ त ? अहिले विमानस्थलकै कर्मचारीहरूले यस्तो पो रहेछ बुटिक एयरपोट भन्दै मजाग गरिरहेका छन् ।

दशौं तहका उपनिर्देशकको दरबन्दी रहेको ठाउँमा सातौं तहका अधिकृतलाई निमित्त दिई जिम्मेवार दिनुमा कतै बुटिकको करोडौं रकममा चलखेल गरी हिमानमिना गर्न लागिएको त होइन भन्ने प्रश्न उठेको छ ।

हालैमात्र महानिर्देशक भई काम थालनी गरेका नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत यो विषयमा कुनै चासो दिएका छैनन् । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीको योजनामा महानिर्देशक पोखरेलले सातौ तहका कर्मचारी सापकोटलाई निरन्तरता दिंदै आइरहेको प्राधिकरण स्रोत बताउँछ ।

पोखरेललाई महानिर्देशक बनाउन अधिकारीले समेत लविङ गरेका थिए । सापकोटाको पक्षमा लविङ गर्दा आफ्नो खर्च भएको भन्दै अधिकारीले उक्त रकम उठाउन सापकोटालाई नै निरन्तरता दिन पोखरेल समक्ष दबाब दिइरहेको स्रोतको दावी छ ।

त्यसो त विमानस्थलमा हाल रहेका टर्मिनलबाट यात्रुले आवत जावत गर्दा विमानस्थलभित्र नै छाता ओढेर हिड्नुपर्ने अवस्था छ । पानी चुहिने समस्याका कारण छाता ओढ्नुपर्ने अवस्था श्रृजना भएको छ ।

कमिसनकै लागि विमानस्थलको डिपार्चर हलमा रहेको आकर्षक र सुन्दर गोदावरी मार्वललाई जुटको कार्पेटले छोपेर लाखौं खर्च भएको देखाइएको छ ।

वर्षातको पानी चुहिंदा ति कार्पेटहरु अहिले नै कुहिन थालेका छन् । अन्तिम सुरक्षा जाँचमा रहेका कार्पेटहरुसमेत च्यातिएर हेर्न नहुने अवस्थामा छन् । यस विषयमा विमानस्थलका महाप्रवन्धक क्षेत्रीको ध्यान गएको छैन ।

त्यसो त क्षेत्री आफै सस्तो र कमसलका सामान र गुडियाहरु झुड्याउन लगाई बुटिक बनाउने नाममा एयपोर्टको संरचनालाई विगारेर लाखौं खर्च गराइरहेका छन् ।

एक लाख पर्ने मूर्तिलाई पाँच लाख भन्दै कोटेशनका नाममा सातौ तहका सापकोटा, प्राधिकरणका अधिकारी र महाप्रवन्धक क्षेत्रीको मिलेमतोमा कमिसनको खेल रचिएको छ ।

अध्यागमनतर्फको यात्रु झर्ने लिफ्टबाटै देखिने भगवानका पाँचवटा मूर्तिहरूका नाममा यसरी लाखौं खर्च गरिएको हो । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट)

Published : Saturday, 2019 July 27, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया