पूर्व माओवादीहरू दिक्क, पूर्वएमालेहरू मालामाल, घरघरमा खुसीयाली

काठमाडौं । पार्टी एकीकरण भएको एक वर्षभन्दा धेरै समय लगाएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आंशिक रुपमा समायोजनको कुरा टुंग्याएको छ ।

समायोजनका क्रममा पूर्वएमाले पार्टी हाबी देखिएको छ । पूर्वमाओवादी केन्द्र समायोजनका क्रममा भागबण्डामा तल परेको छ । राम्रा विभाग, संगठन र जिल्लाहरू एमालेको पोल्टामा परेको छ । एमालेले छाडेको स्थानमा माओवादीलाई दिइएको छ ।

शुक्रबार बालुवाटारमा पूर्व एमालेका ६ जना नेताहरूको बैठकले महत्वपूर्ण विभागहरूमा आफ्ना नेताहरूलाई जिम्मेवारी दिएको छ । नेकपा अध्यक्ष एवम् खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार तत्कालीन एमालेको भागमा परेको विभागको नेतृत्व टुंगो लागेको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच नेकपाका ३२ वटा विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । भने अनुसारका विभागहरू पाएपछि पूर्वएमालेभित्र खुसीयाली छ । पूर्वमाओवादीमा भने असन्तुष्टिकाे बादल लागेकाे छ ।

३२ विभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बालुवाटार बैठकमा सहभागी भएका थिए ।

बालुवाटारको शुक्रबारको बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता नेपाल र संगठन विभाग प्रमुखमा गौतमलाई बनाउने सहमति गरेको छ ।

नेपाल यसअघि पनि तत्कालीन एमालेको विदेश विभाग प्रमुख थिए । नेपाल र गौतम नेकपाभित्र रणनीतिक रूपमा शक्तिशाली नेता हुन् ।

ओली समूहमा रहेका गौतम पछिल्लो समय ओली समूह छोड्दै नेपाल र दाहाल समूहतिर लागेका थिए । संगठन विभाग पाएसँग गौतमले ओलीलाई साथ दिएका छन् । गौतमले साथ छाडेपछि दाहाल चकित परेका छन् ।

गौतम संसदीय निर्वाचनमा पराजित भएपछि पार्टीभित्र सक्रिय भूमिकाको खोजीमा थिए । उनले ओली र दाहाललाई समेत आफूलाई सक्रिय भूमिका दिन आग्रह गर्दै आएका थिए ।

ओलीले शुरूमा संगठन विभागको प्रमुख रामबहादुर थापालाई बनाउनुपर्ने प्रस्ताव गरेका थिए । दाहाल र नेपालले संगठन विभागको प्रमुख गौतमलाई बनाउन प्रस्ताव गरेका थिए ।

संगठन विभाग एमालेको भागमा परेपछि गौतमलाई नै बनाउने सहमति ६ नेताहरूको बैठकले गरेको छ ।

वरिष्ठ खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने सहमति भएको छ । तत्कालीन एमालेमा पनि थिंक ट्यांकका रूपमा प्रतिष्ठान रहेको थियो । जसको नेतृत्व खनालले गरेका थिए ।

पूर्वसहमतिअनुसार विभागीय प्रमुख टुंगो लगाउने तयारी हुँदै गर्दा स्कुल विभागमा विवाद देखिएको छ । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ ।

पोखरेल उपप्रधान तथा रक्षामन्त्री रहेकाले उनलाई विभागीय प्रमुख नदिने स्रोतले जनाएको छ ।

पार्टी प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई ओली र दाहालले प्रचार विभागको प्रमुख बन्न आग्रह गरिसकेका छन् । श्रेष्ठले प्रचार विभाग नलिने अडान व्यक्त गर्दै स्कुल विभाग प्रमुख बनाउनुपर्ने अडान राख्दै आएका छन् । महासचिव पौडेलले कुनै पनि विभागीय पाउने छैनन् ।

पार्टीभित्रको शक्तिशाली विभाग मानिने प्रचार र अर्थ तत्कालीन माओवादीको भागमा परेको छ । दाहालले यी दुई विभागको प्रमुख कसलाई बनउने हुन् खुलेको छैन । स्रोतका अनुसार दाहालले प्रचार विभाग अग्नि सापकोटा र अर्थ विभागमा वर्षमान पुनलाई दिने तयारी गरेका छन् ।

नेकपामा ३२ विभाग छन् । तीमध्ये संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतलाई शक्तिशाली विभागका रूपमा लिने गरिन्छ ।

प्रत्येक विभाग ३५ सदस्ययी हुनेछ । जसमा तत्कालीन एमालेबाट २० र माओवादीबाट १५ जना सदस्य हुनेछन् । ३२ विभागमध्ये १८ एमाले र १४ माओवादीको भागमा परेका छन् ।

शीर्ष नेताबीच ७७ जिल्लामध्ये ४४ जिल्लाको इन्चार्ज एमाले र ३३ जिल्लाको इन्चार्ज माओवादीले लिने सहमति भएको छ । दुई जिल्लामा विवाद भएकाले यो संख्यामा हेरफेर हुन सक्ने नेताहरू बताउँछन् ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहकाले सबैलाई जिम्मेवारी दिनुपर्ने भएकाले एक जिल्लामा दुई सहइन्चार्ज हुन सक्नेछन् । यसमा सहमति जुट्न बाँकी नै छ । महानगर, उपमहानगरहरूमा केन्द्रीय सदस्यलाई नै इन्चार्ज बनाउने सहमति भएको छ ।

नेकपामा लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग छन् । तीनमध्ये दुई लेखा र अनुशासन आयोग एमालेले लिने र निर्वाचन आयोग माओवादीले लिने सहमति भएको छ ।

लेखा आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरा रहने सहमति भएको बताइएको छ । निर्वाचन आयोगमा अमिक शेरचनलाई ल्याउने दाहाल निकट नेताहरू बताउँछन् ।

Published : Saturday, 2019 July 20, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया