कांग्रेसका अन्तर्घातीलाई बाेक्दा वाग्लेकाे अध्यक्ष पद फुत्कियाे, फाेरममा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले अध्यक्ष हंसराज वाग्लेलाई कारबाही गरेर पदबाट हटाएको छ ।

असार २६ गते काठमाडौंमा बसेको फोरमको बैठकले वाग्लेलाई अध्यक्ष पदबाट हटाएर सुजितकुमार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठक जेष्ठ सदस्य श्रष्ठकै अध्यक्षतामा बसेको थियो ।

फोरमको अध्यक्ष भएदेखि नै वाग्लेले संगठनको नीति र नियम विपरितका हर्कत गर्दै आएको आरोप छ । वाग्लेकै कारण फोरमभित्र विवाद हुँदा नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरू विभाजित हुँदै आएका थिए ।

वाग्लेलाई अध्यक्ष पदबाट हटाएपछि उनी सडकमा आइपुगेका छन् । उनका यस्तै हर्कत र गतिविधिले वैदेशिक रोजगार व्यवसायमा संलग्न नेपाली कांग्रेस निकटका व्यवसायीहरू समस्यामा पर्दै आएको गुनासो छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा फोरमको तर्फबाट एकलौटी रुपमा वाग्लेले अन्तर्घाती कमल तामाङलाई अध्यक्ष पदको टिकट दिएपछि फोरमभित्र ठूलो विवाद भएको थियो ।

त्यति मात्रै होइन वाग्लेले नेपाली कांग्रेसले खटाएका दुई जना केन्द्रीय प्रतिनिधिहरू सुरेन्द्रराज पाण्डे र रमेश लेखकलाई समेत बेवास्ता गरेर एकलौटी रुपमा निर्णय गर्नुका साथै अन्तर्घाती तामाङलाई अध्यक्षको टिकट दिएपछि विवाद सतहभन्दा बाहिर आएको थियो ।

फोरमको अध्यक्ष पदबाट वाग्लेलाई हटाएर श्रेष्ठलाई कार्यबाहक अध्यक्ष दिइएको पत्रको जानकारी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ । फोरमका कार्यबाहक अध्यक्ष श्रेष्ठले साउन ३ गते शुक्रबार नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा निवेदन दर्ता समेत गराइएको छ ।

‘वर्तमान अध्यक्ष हंसराज वाग्ले गत ०७५ भदौ २४ गतेका दिन पद वहाल भएदेखि नै पदको दुरुपयोग गरी कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरूको भवना र अभिमतलाई लत्याउँदै विधान विपरित एकलौटी निर्णय गर्दै निरंकुशताको पराकाष्ठा छलंङग हुने गरी प्रस्तुत हुनु भएकाले नेपाली कांग्रेस र वैदेशिक रोजगार क्षेत्रकै अहित र वेइज्जत हुने खालका कार्यहरूलाई निरन्तरता दिइरहेको हुँदा वाध्यतावस वरिष्ठ उपाध्यक्ष सुजितकुमार श्रेष्ठको अध्यक्षतामा यस फोरमका अधिकांश पदाधिकारी र सदस्यहरूको उपस्थितिमा बैठक बसी निज हंसराज वाग्लेलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिएकोले सो निर्णयको जानकारीका लागि असार २६ गतेको बैठकको निर्णय प्रतिलितपी समेत राखेर निवेदन पेश गरिएको छ’, सभापति देउवालाई सम्बोधन गरेर पार्टी मुख्यालय सानेपामा दर्ता भएको पत्रमा उल्लेख छ ।

Published : Saturday, 2019 July 20, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया