देउवालाई सिध्याउन महँगो रेष्टुरेन्टमा गुटको गोप्य भेला, सिटौलाद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद अन्त्य गर्न सहयोग गर्नुभन्दा पनि असन्तुष्ट समूहले आफूलाई विरोधी गुटको रुपमा सक्रिय बनाउँदै लगेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले बिहीबार काठमाडौंमा गुटको भेला गरेर पार्टीभित्रको विवाद मिलाउनेभन्दा पनि चर्काएर व्यक्तिगत लाभ लिनेबाटो तिर लागेको छनक दिएका छन ।

काठमाडौंको नक्सालस्थित एउटा महँगा रेष्टुरेण्टमा पौडेल समूहले भेला गरेको थियो । गुटको भेलामा पौडेल समूहले नेता कृष्णप्रसाद सिटौला समूहलाई भने बोलाएन ।

भेलामा सिटौला समूहका नेताहरू नदेखिएको स्रोतले जनाएको छ । गुटको भेलाका बारेमा जानकार रहेका सिटौलाले आफू निकटका नेताहरूलाई बहिस्कार गर्न निर्देशन दिएको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट नेताहरूलाई मिलाएर लैजान आफू तयार रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन । तर, देउवालाई असहयोग हुने गरेर पौडेल, डा.कोइराला, सिंह र सिटौला समूहहरू गुटगत रुपमा संगठित हुँदै आएका छन ।

यसरी गुटको भेला गर्दै जाँदा नेपाली कांग्रेस पार्टी झन कमजोर हुने कार्यकर्ताहरूले चिन्ता जनाउँदै आएका छन ।

गुटको भेलामा जम्मा भएका तरुण नेताहरूले सभापति देउवाविरुद्ध एकजुट हुन पौडेल समूहलाई दबाब दिएका थिए ।

नेपाली कांग्रेसका पौडेल समूहका शीर्ष नेता र युवा तरुणसहित करीव २०–२५ जना नेताहरूले सहभागिता रहेको थियो ।

उनीहरूले म होइन हामी भनेर अघि बढ्न पौडेल, डा.कोइराला र सिंहलाई दबाब दिँदै नेताहरूले आ–आफ्नो डम्फु बजाउने हो भने आउँदो महाधिवेशनमा पनि सभापति देउवा नै हाबी हुने सुझाव दिएका थिए ।

नेताहरूले गुटको भेलामा वरिष्ठ नेता पौडेल सभापति देउवासँग लचिलो भएर प्रस्तुत भएको भन्दै आक्रोश पोखेका थिए ।

भेलामा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चौलागाइँ, महासचिव भुपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ रहेका छन ।

यी चार जनाको समूहले तरुण दलका हजारौँ तरुण नेताहरूलाई बेरोजगार बनाएको भन्दै तरुण दलका पुराना नेताहरूले आक्रोश पोखेका थिए ।

यसरी आक्रोश पोख्नेमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ अग्रपंक्तिमा रहेका थिए ।

कायस्थसहितका नेताहरू समूहले सभापति देउवालाई ठेगान लगाउन विरोधी समूहरू एक ठाउँमा आउनुपर्ने प्रस्ताव राखेका थिए ।

उनीहरूको प्रस्तावमा नेता सिंहले समर्थन जनाएका थिए । नेता सिंहलाई उदृत गर्दै एक नेताले भने, ‘सभापति शेरबहादुर देउवा पार्टीमा निरंकुश बन्दै गएका छन । उनलाई ठेगान लगाउन विरोधी समूहरू एकजुट बनौँ ।’

अहिलेको तरुण दलको केन्द्रीय कार्य समितिले काम गर्न नसकेको भन्दै पुराना तरुण नेताहरूको सबैभन्दा धेरै असन्तुष्टि थियो । उनीहरूले चार जना भएपनि अहिलेको तरुण दलले गरेको राम्रा कामहरूका बारेमा प्रशंसा गर्न कञ्जुस्याइँ गरेको थियो ।

गुटको गोप्य भेलामा तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरूण दलका पूर्व केन्द्रीय सदस्य मेदिनी सिटौला, तरुण नेताहरू हुर्मत न्यौपाने, कमल शाह, दामोदर कोइराला, लक्ष्मी खतिवडासहित दुई दर्जन नेताहरू थिए ।

वरिष्ठ नेता पौडेलले तरुण दल गठन गर्दा कमजोरी भएको स्वीकार गरेका थिए ।

भेलामा महामन्त्री डा.कोइराला पनि सभापति देउवाप्रति आक्रामक नदेखिए पनि पार्टीलाई मिलाएर लैजान आफूले विशेष भूमिका खेल्ने बताएका थिए । उनले पार्टीभित्र नेताहरूबीच देखिएको विवादलाई अन्त्य गर्नै पर्ने बताएका थिए ।

नेता सिंहले सभापति देउवालाई कुनै पनि हालतमा १४औँ महाविधेशनमा सभापतिमा पराजित गर्नुपर्ने प्रस्ताव गरेका थिए । गुटको गोप्य भेलामा सबैभन्दा आक्रामक नेता सिंह नै देखिएको एक जना तरुण नेताले बताए ।

‘वरिष्ठ नेता पौडेल र महामन्त्री डा.कोइरालाभन्दा पनि प्रकाशमान सिंह आक्रमक हुनुहुन्थ्यो’, ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कृष्णप्रसाद सिटौला समूहलाई पनि बोलाउने कुरा भएको थियो । प्रकाशमान सिंह दाईकै कारण नबोलाइएको हो ।’

नक्सालको महँगो रेष्टुरेन्टमा भएको गुटको गोप्य भेलाको सबै खर्च नेपाली कांग्रेसका नेता सिंहले नै व्यहोरेको एक नेताले बताए ।

Published : Friday, 2019 July 19, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया