लुम्बिनीमा बुद्धकाे मूर्ति फाेड्नेलाई कारबाही गर्न कांग्रेसकाे माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रूपन्देहीमा गौतम बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका बुद्धको मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेका थिए ।

‘विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतम बुद्धका मूर्तिलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’, खाँडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘धार्मिक र सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रूपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ’, उनले भनेका छन् ।

बुधबार राति अज्ञात समूहले लुम्बिनी क्षेत्रमा बुद्धका मूर्ति तोडफोड गरेको थियाे । बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति तोडफोड गरिएको हो ।

नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो । तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ । घटनाको अनुसन्धान गरी अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन् ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीय महास्थिवीरले मूर्ति तोडफोड गर्नु अशान्तवादी चरित्र भएको बताए । ‘यो घटना निन्दनीय छ’, उनले भने, ‘अशान्ति चाहनेहरू यस्तो गतिविधिमा संलग्न छन् । घटनामा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’

राणा शासनयता बुद्धविरोधी गतिविधि भएको सम्भवतः यो पहिलो घटना हुन सक्ने जानकार बताउँछन् । २००१ सालमा बौद्ध धर्म प्रचार गरेको भन्दै सात भिक्षुलाई देशनिकाला गरिएको थियो। पछिल्लो घटनाले ती दिनको स्मरण गराएको भिक्षुको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो घटना लज्जास्पद भएको बताए। यसले नकारात्मक सन्देश प्रवाह गर्ने चिन्ता उनले व्यक्त गरे ।

बुद्धको मूर्ति कुन स्थानमा राख्नेरनराख्ने भनेर प्रश्नसमेत उब्जिएको उनको भनाइ छ । ‘बाटो–बाटोमा बुद्धका मूर्ति राख्नु कत्तिको उचित छ ?’, उनले भने, ‘यसको सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण भएको छ ।’

बुद्ध कुनै धर्मका नभई साझा हुन् भन्ने शिक्षा दिन नसकेका कारण पनि घटना भएको हुन सक्ने उनको ठम्याइ छ ।

Published : Friday, 2019 July 19, 7:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया