अर्धभूमिगत कम्युनिस्ट नेता माेहनविक्रम सिंहद्वारा भारतीय राजदूतसँग गोप्य वार्ता

काठमाडौं । अर्धभूमिगतको नाटक गर्दै आएका नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले केही दिन अगाडि नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग गोप्य वार्ता गरेका छन् ।

ललिपुरको सानेपास्थित एउटा पार्टी प्यालेसमा महामन्त्री सिंहले भारतीय राजदूत पुरीसँग परामर्श गरेका हुन् । राजदूत पुरीसँगको भेटमा महमन्त्री सिंहसँग उनकी कान्छी पत्नी एवम् सांसद दुर्गा पौडेल पनि साथमा थिइन् ।

पत्नीसहित रहेका भारतीय राजदूत पुरी र महामन्त्री सिंह तथा सांसद पौडेलबीच लामो कुराकानी भएको थियो । कुराकानीका विषयमा केही भनिएको छैन । सो भेटमा नेपाल–भारत सम्बन्धका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

भारतबाट आयात हुने विषादीयुक्त तरकारीको विषयमा विज्ञप्ति जारी गरेर आलोचना गरेका महामन्त्री सिंहले त्यसको तीन दिनपछि भारतीय राजदूत पुरीलाई गोप्य रुपमा भेट गरेका हुन् ।

स्रोतका अनुसार अब बन्ने नयाँ सरकारमा जनमोर्चाकी सांसद समेत रहेकी महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेललाई मन्त्री बनाउने विषयमा कुराकानी भएको थियो ।

राजदूत पुरीले स्पष्ट रुपमा केही नभने पनि मौन समर्थन जनाएको स्रोतको दाबी छ । भेटवार्तामा अत्यन्तै सहज र सरल रुपमा प्रस्तुत भएका भारतीय राजदूत पुरीले मसालका महामन्त्री सिंहलाई सकारात्मक आश्वासन दिएको दाबी गरिएको छ ।

प्यूठान जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित पौडेललाई मन्त्री बनाउन पति सिंहले विभिन्न तिकडमहरू गर्दै आएका छन् । केपी ओली प्रधानमन्त्री बन्ने बेला पनि महामन्त्री सिंहले पत्नीलाई मन्त्री बनाइदिन आग्रह गरेका थिए ।

तर, ओलीले त्यस बेला तत्काल मन्त्री बनाउन नसक्ने जवाफ दिएका थिए । अर्को पटक मन्त्री बनाउने आश्वासन ओलीले सिंह र उनकी पत्नी पौडेललाई दिएका थिए ।

एकाएक भारतीय राजदूत पुरीसँग आइतबार सानेपाको एउटा पार्टी प्यालेसमा कुराकानी भएको विषयले नेपाली राजनीति तताएको छ । बाहिरी रुपमा भारतको चर्को आलोचना गर्दै आएका महामन्त्री सिंहले भारतीय राजदूत पुरीसँग भेट गर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।

भारतलाई गाली गरेर राष्ट्रवादी छवि बनाएका नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको दोहोरो चरित्र बुझिनसक्नु भएको छ । दिनभरि भारतको विरोध गर्ने कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू समेत राति राति भारतीय उच्च अधिकारीहरूसँग भेटेर व्यक्तिगत लाभका कुरा गर्ने परम्परा नयाँ होइन ।

तर, मोहनविक्रम सिंह जस्ता नेताहरू समेत पत्नीसहित भारतीय राजदूत सिंहलाई भेट्नुलाई धेरैले रहस्यका रुपमा लिएका छन् । भारतले नेपालमा बिग्रदै गएको आफ्नो छविलाई सुधार गरेर लैजाने पक्षमा छ । जनस्तरमा भारतको विरोध धेरै हुने गरेको छ । तर, केन्द्रीय नेताहरूको लेबलमा भारतका उच्च अधिकारीहरूसँग भेटेर दोहोरो चरित्र देखाउने गरेको आरोप छ ।

नेपालका राजनीतिक दलका धेरै नेताहरूले अहिले पनि लैनचौरमा रहेको भारतीय राजदूतावासबाट महिनावारी तलव भत्ता बुझ्ने गरेको आरोप छ ।

नेपाली कांग्रेस, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राजपा, समाजवादी पार्टीलगायत साना दलका नेताहरूमाथि समेत तलव भत्ता बुझ्ने गरेको आरोप छ ।

केही दिन अगाडि मात्रै भारतीय राजदूत पुरीले लैनचौरस्थित दूतावासभित्र रहेको आफ्नै निवासमा नेपालका नाम चलेका मिडियाका सम्पादक र मालिकहरूलाई बोलाएर डिनर खुवाएका थिए ।

यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 July 18, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया