बाढी पहिरोबाट ५० जनाको मृत्यु, प्रभावित जिल्लाको सूची जारी

काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जनाको मृत्यु भएको छ ।

ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३–३ जनाको मृत्यु भएको प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ५० जनामध्ये २२ जना महिला तथा २८ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३–३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरू लगायतका प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेको जनाइएको छ ।

बाढी र पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

Published : Sunday, 2019 July 14, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया