गोकुलजी तपाईलाई वीपी र कांग्रेसबारे म टियुशन पढाउँ छुः रामहरि खतिवडा

काठमाडौैं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा जस्ता मन्त्रीहरूका कारण सरकार दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको बताएका छन् ।

खतिवडाले मन्त्री बास्कोटालाई वीपी कोइराला र नेपाली कांग्रेसका बारेमा एकछेउ पनि नबुझेका व्यक्तिका रुपमा टिप्पणी गरेका छन् । रिपब्लिका दैनिकसँग बिहीबार साँझ कुरा गर्दै खतिवडाले भने, ‘सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाजीलाई मैले प्रधानमन्त्रीजीको चौकिदारका रुपमा चिनेको थिएँ । आजदेखि उहाँले चौकिदारको परिचय पनि मेटाउनु भएको छ ।’

नेपाली कांग्रेस कहिल्यै पनि हिंसाको समर्थक र पक्षमा नरहेको भन्दै खतिवडाले भने, ‘वीपी कोइराला र नेपाली कांग्रेसलाई विप्लवसँग जसरी जोडेर अमर्यादित भाषा बोल्नुभएको छ त्यसले गोकुल बास्कोटाजी साँच्चिकै मानसिक तनावमा रहेको मैले बुझेको छु ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले सञ्चारमन्त्री बास्कोटालाई वीपी कोइराला र नेपाली कांग्रेसका बारेमा टियुशन क्लास दिनुपर्ने बेला भएको बताए । ‘गोकुलजी आउनुस् तपाईलाई वीपी कोइराला र नेपाली कांग्रेसका बारेमा टियुशन पढाउनु पर्ने देखे । आउनुस् मैले नै तपाईलाई टियुशन क्लास दिन्छु’, उनले भनेका छन् ।

सञ्चारमन्त्री बास्कोटा र गृहमन्त्री रामबहादुर थापाहरू जस्ताका सरकार दिनदिनै अलोकप्रिय र असफल बन्दै गएको उनले बताए । ‘विप्लव नेतृत्वको नेकपालाई दुईतिहाइको कम्युनिस्ट सरकार आफूले प्रतिवन्ध लगाउने । आफूले पक्राउ गरेर गोली हान्ने । आफैले संविधान र कानून उल्लंघन गर्ने’, खतिवडाले भने, ‘नेपाली कांग्रेसले कानूनी शासनको कुरा गर्दा पाठ सिकाउने गोकुलजीका कुराले उहाँ धेरै मानसिक तनावमा हुनुहुन्छ कि भन्ने लाग्यो ।’

नेपाली कांग्रेसका नेता खतिवडाले सञ्चारमन्त्री बास्कोटालाई आफ्नो जिम्मेवारी तथा पदीय हैसियतलाई ख्याल गरेर बोल्न चेतावनी दिएका छन् ।

सञ्चारमन्त्री बास्कोटाले बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपाको हिंसाबारे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको धारणा माग गरेका थिए । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने बास्कोटाको भनाइ थियो ।

मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरूले गरेको हिंसा बैध हो ?’

‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’, सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले प्रश्न गरेका छन् ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे । हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए ।

सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए । उनले अघि भने, ‘१० वर्ष भयानक हिंसा हुँदा मुख्य मतियारहरु को थिए ? उहाँहरुको दृष्टिकोण पूरातत्व विभागबाट खोज्नुपर्ने भयो ।

मन्त्री बास्कोटाले कुमार पौडेलको मृत्युका सन्दर्भमा संसदीय समिति बनाउन नसकिने बताए । समितिमा बस्नेहरुको पूर्व दृष्टिकोण हुने र समितिको प्रतिवेदन राजनीतिक प्रपोगाण्डा मात्र हुने बास्कोटाको भनाइ छ ।

Published : Thursday, 2019 July 11, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया