कांग्रेसद्वारा भोजपुर घटनाबारे गृहमन्त्री र आइजीपीसँग जानकारी माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल प्रहरीबीच भोजपुरमा भएको भिडन्तमा मृत्यु भएको विषयबारे सांसदहरूले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई सत्य तथ्य जानकारी गराउन माग गरेका छन् ।

सिंहदरबारमा बुधबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिपक्ष दलका संसादहरूले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन ।

नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला र दिलेन्द्र बडूले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घटनाबारे सत्य तथ्य जानकारी दिन माग गरेका छन् ।

सांसदहरूले भोजपुर घटनाको सत्य तथ्य माग गरेपछि बैठमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई विप्लप नेतृत्वका पार्टीका कार्यकर्ताले अचानक गोली प्रहर गरेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा विप्लवका कार्यकर्तालाई गोली लागेर मृत्यु भएको जानकारी दिए ।

उनले भने, ‘प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो र उनीहरूलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो ।’

महानिरीक्षक खनालले उपचारका लागि अस्पताल लैजाने क्रममा दुवैको मृत्यु भएको बताए । बैठकमा विप्लव समूहका ओखलढुङ्गाका जिल्ला इञ्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको महानिरीक्षक खनालले पुष्टि गरेका छन् ।

Published : Wednesday, 2019 July 10, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया