कम्युनिस्ट सरकारद्वारा पत्रकारहरू पक्राउ

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरेर बुधबार दिउँसो साढ चार बजे धुनषास्थित जिल्ला हुलाक कार्यालयमा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासदद्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरू धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

‘आफ्ना जायज मागहरू राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका अवस्थामा प्रहरीबाट हस्तक्षेप भई पत्रकार पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’, विज्ञप्तिमा भनिएको छ ।

‘महासंघ प्रहरीबाट भएको दमनको निन्दा र भत्र्सना गर्दै पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, महासचिव विष्टले भनेका छन्, ‘पत्रकारहरूले उठाएका जायज मागहरूप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग गर्दछ ।’

कम्युनिस्ट सरकारले पत्रकारहरूप्रति कडा रुप देखाइरहेका बेला धनुषाका पत्रकारहरू पक्राउ परेका छन् ।

Published : Wednesday, 2019 June 12, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया