कालीगण्डकी गाउँपालिकाको केन्द्र सार्ने षडयन्त्र

पुतलीबजार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको केन्द्र सार्ने षडयन्त्र गरिएको छ ।

गाउँपालिकाको केन्द्रका विषयमा शुरूदेखि नै विवाद भएपनि गाउँपालिका प्रमुख र केही वडाका प्रतिनिधिले राजनीतिक उद्देश्य पूर्ति गर्नका लागि गाउँपालिकाको केन्द्र सार्ने षडयन्त्र गरेको स्थानीयको आरोप छ ।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित हुन् । थापाले पार्टीको भन्दा पनि आफ्नो राजनीतिक उद्देश्य राखेर केन्द्र सार्ने षडयन्त्र गरेको नेकपाकै नेता कार्यकर्ताहरू बताउँछन् ।

‘अहिले कट्टीबाट सार्नुपर्ने भएमा कुलुम लैजानेगरी जग्गा दिने सहमति भएको हो, तर उहाँले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने प्रयास गर्दै हुनुहुन्छ’, नेकपाकै एकजना कार्यकर्ताले भने, ‘त्यसैले गहलाममा पनि फरक वडाका वडा सदस्यको नाममा जग्गा खरिद गरिएको छ ।’

स्रोतका अनुसार गहलाममा वडा नम्बर ६ का वडा सदस्य भोज दर्लामीको नाममा दुई रोपनी जग्गा खरिद भएको छ ।

‘त्यो जग्गाको पनि दुई तरिकाले मूल्यांकन भएको छ’, स्रोतले भन्यो, ‘गाउँपालिकाको केन्द्र आयो भने एउटा मूल्य आएन भने अर्को मूल्य ।’

गाउँपालिकाकै पदाधिकारीले जग्गा लिएर अपायक ठाउँमा केन्द्र सार्ने तयारी भएपछि गाउँपालिकाबासी आक्रोशित बनेका छन् ।

‘गहलाम भिरालो ठाउँ छ भने कुलुम समथर तर पनि अध्यक्षको जोड गहलाम नै राख्ने भन्ने छ’, स्रोतले भन्यो, ‘गहलाम राख्न सके मिर्मी राख्ने यसअघिको सहमतिमा पार्टीको लाइनअनुसार काम गरेको देखाउनुपरेको हुन सक्छ ।’

तर, अहिले पनि नेकपा गाउँपालिकाका अधिकांश पदाधिकारी कुलुम वा कट्टी नै कायम हुनुपर्छ भन्नेमा रहेको ती नेता बताउँछन् ।

केन्द्र हाल कायम स्थानबाट सार्न नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कालीगण्डकी गाउँपालिकाले गरेको अर्को विवादित काम हो भ्यू टावर निर्माण ।

कालीगण्डकी कट्टी डाँडामा भ्यू टावर बनाउन गाउँपालिकाले बोलपत्र आह्वान पनि गरिसकेको छ ।

गाउँपालिकाका अधिकांश स्थानमा खानेपानीको समस्या, मोटरबाटोको समस्या भए पनि त्यसलाई बेवास्ता गर्दै भ्यू टावर बनाउन लागिएको भन्दै विरोध भएको छ ।

Published : Tuesday, 2019 June 11, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया