कम्युनिस्ट सरकारविरुद्ध पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघको कम्युनिस्ट सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति जारी गरेर तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । वैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णरुपमा सफल भएको निष्कर्ष महासंघले निकालेको छ ।

आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरू, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू र आम जनताको सहयोग र सहभागिता समेत प्राप्त भएको महासंघले जनाएको छ ।

महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू अविलम्ब फिर्ता लिन सरकारसंग पुनः जोडदार माग गरेको छ ।

नेपाली प्रेस जगतका जायज मागहरू अघि सारेर आन्दोलित महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा महासंघले दुःख प्रकट गरेको छ ।

विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव विष्टले तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन महासंघ आमसञ्चारकर्मी, सञ्चार सम्बद्ध संघ–संगठन, पेशाकर्मी, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा आहृवान गरेका छन् ।

पत्रकार महासंघको तेश्रो चरणको आन्दोलन

क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।

ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।

ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।

घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।

ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।

च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।

छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।

(नोटः मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने र आवश्यकताअनुसार कार्यक्रमलाई थपघट र परिमार्जित गरिनेछ)

Published : Tuesday, 2019 June 11, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया