कांग्रेसद्वारा संसदमा हँगामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा सवारी आवागमन अबरोध गरेकाले सवारी आवागमन खुलाउन बल प्रयोग भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसले माइतीघर मण्डलामा नेवार समुदायले गरेको प्रदर्शनमा भएको दमनका बारेमा कम्युनिस्ट सरकारको जवाफ माग गरेर सोमबार संसद अबरोध गरेपछि मंगलबारको संसदको बैठकमा गृहमन्त्री थापाले सवारी आवागमन खुलाउन प्रहरीले बल प्रयोग गरिएको बताए ।

कम्युनिस्ट सरकारले संसदमा दर्ता गराएको गठी विधेयकको विरोध गर्दै जेठ २६ गते काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीद्वारा कठोर दमन भएको थियो । सोही दमनको नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

गृहमन्त्री थापाले भने, ‘२–३ सय प्रदर्शनकारी आएका थिए । प्रदर्शनकारीले सवारी आवागमन अबरोध गरेपछि बाटो खुलाउन । सामान्य बल प्रयोग भयो ।’

‘सवारी आवागमन नरोक्न प्रहरीले धेरै पटक अनुरोध गरेको थियो । यातायातलाई अबरोधलाई जारी राखेपछि प्रहरीले पानीको फोहरा हानेको हो’, उनले भने, ‘प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र इट्टा प्रहार गरेका थिए । केही प्रहरी घाइते पनि भएका छन् । त्यसपछि मात्रै प्रहरीले बल प्रयोग गरेको थियो ।’

गृहमन्त्री थापाले केही प्रदर्शनकारीलाई सोधपुछ गरेर आफन्तको जिम्मा लगाएर छाडिएको जानकारी सदनलाई गराए ।

‘सरकारले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् गरेको छैन । जनताको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध छ’, गृहमन्त्री थापाले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको होइन । सार्वजनिक यातायात रोक्न खोजेपछि बल प्रयोग भएको हो ।’

‘कानून विपरितका कुरा भएको छ भने कानूनको कठघारामा ल्याइनुपर्छ । प्रहरीले प्रदर्शनकारीमाथि भएको दमन र अभद्र व्यवहारको महानगरीय प्रहरीले छाविन गरिरहेको छ’, गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले दिएको जवाफमा चित्त नबुझेपछि नेपाली कांग्रेसका सांसदहरूले प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले गुठी विधेयकको विरोधमा प्रदर्शनकारीहरूले शान्तिपूर्ण रुपमा गरेको प्रदर्शनमा दमन गरेर ठूलो अन्याय गरेको बताए । उनले प्रश्न गर्दै भने, ‘माइतीघर मण्डलामा भएको दमनको गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

नेपाली कांग्रेसका सांसदहरू पक्राउ परेका मान्छेलाई लात हानेर घाइते बनाउने कार्य भएको भन्दै आपत्ति जनाए । कांग्रेसका सांसदहरूले गृहमन्त्रीले संसदमा सत्य कुरा बोल्नु पर्ने भन्दै माइतीघर मण्डलामा भएको दमनका बारेमा छानविन समिति गठनको माग गरे ।

नेपाली कांग्रेसका सांसदहरू पुष्पा भुसाल, देबेन्द्रराज कँडेल, पुष्पा भुसाल, देवप्रसाद तिमिल्सिना, डिला संग्रौला पन्त, पार्वती डिसी चौधरी लगायतले प्रश्न सोधेका थिए ।

संसद बैठकमा सत्तारुढ दल समाजवादी पार्टी नेपालका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले माइतीघर मण्डलामा भएको प्रहरीको दमनको विरोध गरेका थिए । उनले एक मिनटभित्र प्रश्न सोधर नसकेपछि सभामुख कृष्णबहादुर महराले अरु समय दिएपछि नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए ।

कांग्रेसका सांसदहरूले आपत्ति जनाउँदै सिटबाट उठेपछि सभामुख महरा आपत्तिएका थिए । संसदको बैठकलाई सही ठाउँमा ल्याउन सभामुख महराले तनावपूर्ण अवस्थाको सामना गर्नुपरेको थियो । महरालाई चिड्चिड पसिना छुटेको थियो । कांग्रेसका सांसदहरूले हरेक पटक उभिएर प्रश्न राखेपछि महरा आत्तिएका थिए ।

Published : Tuesday, 2019 June 11, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया