गाउँबाट शक्ति आर्जन गरेको कांग्रेसले देखायो पावर, कम्युनिस्टहरूभित्र खैलाबैला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गुठी खारेज गर्ने गरेर ल्याइएको विधेयकको विरोधमा भएको प्रदर्शनमा कम्युनिस्ट सरकारबाट दमन भएको भन्दै संसदमा हँगामा गरेपछि सूचना टाँसेर स्थगित गरिएको छ ।

सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।

संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान थियो ।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक–पटक बैठक चलाउन खोजेपनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।

निर्धाति समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

संसदमा आइतबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

राष्ट्रिय जागरण अभियान भरखरै सम्पन्न गरेको नेपाली कांग्रेसलाई गाउँका कार्यकर्ताले सदनमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर आलोचना गरिरहेका बेला संसदको बैठक अबरुद्ध भएको छ ।

नेपाली कांग्रेसले धर्म र संस्कृतिको जर्गेना गर्दै आएका गुठीहरू मास्न थालेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेको छ । कांग्रेसले गठीको बचाउ गरेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पनि साथ दिएका छन् ।

नेकपाका सांसदहरूले समेत कांग्रेसकै पक्षमा अभिव्यक्ति दिएपछि कम्युनिस्ट सरकारभित्र खैलाबैला मच्चिएको छ ।

Published : Monday, 2019 June 10, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया