जागरण अभियानको उच्च मूल्यांकन, अधिनायकवादसँग लड्न कांग्रेसलाई शक्ति प्राप्त

काठमाडौं । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरूमा नवीन उर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरेर जागरण अभियानले कार्यकर्ताहरूमा उत्साह थपिएको बताए । ‘वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नु हुने स्वदेश र विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइप्रति म हार्दिक सम्मान प्रकट गर्दछु’, देउवाले भनेका छन् ।

‘गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधि साथीहरूको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्नु हुने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबै आदरणीय साथीहरूमा बधाई ज्ञापन गर्दछु’, देउवाले भनेका छन् ।

‘जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न म पार्टीका आम साथीहरूमा अपील गर्दछु’, सभापति देउवाले भनेका छन्, ‘लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नु छ ।’

जागरण अभियानमार्फत् यो दिशामा प्राप्त उर्जालाई पुँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने देउवाले बताएका छन् ।

देउवाले भनेका छन्, ‘अभियानका क्रममा निरन्तर समाचार सम्प्रेषण गर्ने सबै संचार माध्यमलाई धन्यवाद दिंदै आभार प्रकट गर्दछु ।’

नेपाली कांग्रेसको पहिलो चरणको जागणर अभियान जेठ २५ गते शनिबारदेखि समापन भएको छ । अब दोस्रो चरणको जागरण अभियान चलाइनेछ ।

Published : Sunday, 2019 June 9, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया