भ्रष्ट कम्युनिस्टहरूको सरकार पाँच वर्ष पनि टिक्दैनः ईन्द्र बानियाँ

हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्टहरू झुठको खेती गर्न एकदम माहिर रहेको बताएका छन् ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा शुक्रबार मकवानपुरको हेटौंडा–१८ को गुम्बाडाँडामा भएको जनजागरण अभियानलाई सम्बोधन गर्दै केसीले नेकपाको दुई तिहाइ सरकार झुठको खेती गर्दै आएको बताए । उनले जनताको अमूल्य मत प्राप्त गर्दै सरकारमा गए पनि अझै झुठा आश्वाशन र झुठकै खेती गरिरहेको बताए ।

नेता केसीले विश्वको इतिहासमा एउटै पार्टीले ३ ठूला क्रान्ति गर्ने नेपालको कांग्रेसमात्र रहेको बताए । उनले भने, ‘हामी एक भएर लागे विश्वबाट पलायन भएको कम्युनिष्ट नेपालमा पनि अर्धमूर्छित हुनेछ ।’

कांग्रेस अब चुप लागेर नबस्ने बताउँदै उनले कम्युनिष्ट सरकारले संघ, प्रदेश र स्थानीय निकायमा गरिरहेको चरम भ्रष्टाचार, शोषण, दमनको भण्डाफोर गर्दै गाउँगाउँमा जनजागरण अभियान लिएर हिँडेको बताए ।

नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनजागरण अभियानबारे प्रष्ट पार्दै कम्युनिष्ट शासनकाललाई नेपाली जनताले मन नपराएको बताए ।

नेता बानियाँले विश्वबाट पलायन भएको कम्युनिष्ट नेपालबाट समेत पलायन हुने संघारमा पुगेको दाबी गरे ।

कांग्रेस अब कम्युनिष्ट सरकारले लाद्न खोजेको निरंकुशताविरुद्ध एक भएर लाग्ने उनले बताएका छन् ।

जनताको घरदैलोमा गइरहेको बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो धोकेवाज र गफको भरमा कांग्रेस कहिल्यै नलाग्ने बताए ।

‘कम्युनिष्ट सरकार काण्डैकाण्ड, भ्रष्टाचार, बलात्कार, महँगी बढाएर आश्वासनमात्र दिँदै रुमल्लिरहेकोले ५ वर्ष पनि टिक्न सक्ने अबस्थामा छैन’, नेता बानियाँले भने ।

नेपाल महिला संघ केन्द्रीय सदस्य सुशीला उप्रेतीले कांग्रेस अब एकजुट भएर कम्युनिष्ट सरकारको बल मिच्याइँ विरुद्ध लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसको सिद्धान्त र विचारलाई जनतामाझ लैजानुपर्ने पनि बताए ।

उनले विश्वले नपत्याएको कम्युनिष्ट नेपालबाट पनि चाँडै समाप्त हुने बताइन ।

जनजागरण अभियानमा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Published : Saturday, 2019 June 8, 7:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया