कांग्रेसले कम्युनिस्ट सरकारको ठूलो गल्ती सच्चाइदियो, खुसी हुँदै मन्त्रीले दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटमाथि रहेका गम्भीर त्रुटि औल्याइदिएको छ ।

नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले आइतबारको संसद बैठकको शुरूमै बजेटमा रहेको त्रुटिहरू सच्चाउन कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडासँग आग्रह गरेका थिए । डा.रिजालको आग्रहपछि अर्थमन्त्री डा.खतिवडाले बजेटमा केही गल्ती भएको स्वीकार गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई धन्यावाद दिएका छन् ।

‘सरकारले बजेटको अनुसूची १ मा ०७५–७६ आर्थिक वर्षको संशोधन अनुमान पेश गरेको छ । त्यो संशोधन अनुमानमा त्रुटि छ’, नेपाली कांग्रेसका सांसद डा.रिजालले भने, ‘त्यो त्रुटिको गम्भीर प्रभाव रहन्छ । त्यो कुरा उठाउन आवश्यक छ । त्यस बारेमा अर्थमन्त्रीजीले जवाफ नदिइकन बजेटका बारेमा अरु छलफल गर्न उचित हुँदैन ।’

उनले भने, ‘सरकारले चालु खर्च वर्ष ७ सय ८३ अर्ब हुने अनुमान गरेको छ । पुजिगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ गरेर १२ खर्ब आठ आर्बको स्रोत साधन चाहिन्छ भनिएको छ ।’

‘स्रोत साधन जोहो गर्ने क्रममा राजश्वबाट आठ सय ६० अर्ब जम्मा हुन्छ भन्छ । आठ सय ६० अर्बमध्ये एक सय दुई अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ राजश्व बाँडफाँट गर्दा । बाँकी रहन्छ सात सय ५८ अर्ब’, नेपाली कांग्रेसका सांसद डा.रिजालले भने, ‘सरकारले अनुसूचीमा यसलाई घटाउनुको सट्टा जोडेर राजश्वको संघीय सर्वोसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजश्व अनुमान गरेको छ । त्यो गलत छ ।’

‘विदेश अनुदान जोड्दा जम्मा चार सय आठ अर्ब सरकारको स्रोत साधन रहन्छ । यसरी बजेटको न्युन चार सय चारमध्ये सरकारले विदेशी ऋण दुई दश अर्ब र आन्तरिक ऋण एक सय ७२ अर्ब उठाउने भनेको छ’, उनले अर्थमन्त्री डा.खतिवडाले बजेटमा गरेको गल्ती औँल्याउँदै भने, ‘योसबै गर्दा बजेटमा अझै न्युन २२ अर्ब रहन्छ । २२ अर्ब न्युन रहने मात्रै होइन । यो सांख्यकी र अंक गणितको कुरा मात्रै होइन सरकारलाई यो संसदले एक सय ७२ अर्बसम्म आन्तरिक ऋण उठाउने अधिकार दिएको छ ।’

‘त्योभन्दा बढी ऋण उठाउने अधिकार दिएको छैन । यसरी सरकारले एक सय ९४ अर्ब आन्तरिक ऋण उठाउने खालको परिस्थितिमा अघिल्लो वर्षको बजेट रहेको छ’, उनले भने, ‘यसबारेमा स्पष्ट नभएकन संसदले दिएको अधिकारभन्दा बाहिर गएर आन्तरिक ऋण उठाउने काम सरकारले गर्न पाउँदैन । यसबारेमा अर्थमन्त्री ज्यूको स्पष्टीकरण आवश्यक छ । त्यो स्पष्टीकरण चित्तबुझ्दो भए मात्रै बजेटमाथिको छलफल अगाडि बढ्न सक्छ ।’

जवफामा अर्थमन्त्री डा.खतिवडाले बजेटको पुस्तिकाको अनुसूची एकको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताए । गल्ती औल्याइदिएकोमा अर्थमन्त्री डा.खतिवडाले नेपाली कांग्रेसका सांसद डा.रिजाललाई धन्यावाद पनि दिएका छन् ।

‘संघीयता कार्यान्वयनको सवालमा राजश्व संकलन गरेर संघमा रहने राजश्व संघीय सञ्चित कोषमा रहन्छ’, उनले भने, ‘प्रदेश र स्थानीय तहमा जाने राजश्व विभाज्य कोषमा जान्छ । केही प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजश्व पनि संघीय सञ्चित कोषमा जाने रकममा जोडिएकोले त्यो अन्यथा भएको हो ।’

‘त्यो रकम मिलाइ सकिएको छ । त्यसले अरु अंकमा कुनै प्रभाव पार्दैन । त्यो एउटा अंक मिलाउना साथ अरु अंक सबै मिल्छ’, अर्थमन्त्री डा.खतिवडाले भने, ‘आन्तरिक ऋण हामी एक सय ७२ अर्बको जुन सीमा हो त्योभन्दा माथि नउठाउने गरी प्रबन्ध हुन्छ ।’

Published : Sunday, 2019 June 2, 1:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया