देउवाले दिए बल्ल कार्यकर्ताको मन जित्ने अभिव्यक्ति, तालीले स्वागत

बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस रुपन्देही जिल्ला सम्मेलनको शनिबार उदघाटन गर्दै देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको बताए ।

देउवाले भने, ‘जनताका अधिकार खोस्ने र प्रजातन्त्रसँग हिँड्न नखोेजेपछि राजा ज्ञानेन्द्रलाई पनि हटाएका हौं । अहिले ओलीले पनि त्यस्तै गर्दैछन् ।’

नेपाली कांग्रेसका सभापति देउवाले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता खोस्न खोजेको बताए ।

उनले भने, ‘२००७ सालदेखि हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो । अहिले सरकारले विधेयक ल्याएर स्वतन्त्रतामा बन्देज लगाउन खोज्दैछ ।’

‘हामी संसद चल्न दिन्नौंं, विधेयक कुनै हालतमा पास हुन दिन्नौं’, उनले चेतावनी दिएका छन् ।

सरकारले स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको उनले बताए ।

‘ओली सरकार पञ्चायत भन्दा पनि तल्लो स्तरमा ओर्लेर निरंकुशता र मनपरी लाद्न खोज्दैछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारविरुद्ध लड्नुपर्ने अवस्था छ, आन्दोलनका लागि तयार हुनुस् ।’

विपक्षी दलका नेता देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएको टिप्पणी गरे ।

‘विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ ?’, सभापति देउवाले भने, ‘यो कुनै हालतमा हुन दिन्नौं ।’

देउवाले सम्मेलनलाई सम्बोधन गर्दै गर्दा तालीले स्वागत गरिएको थियो ।

Published : Saturday, 2019 June 1, 6:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया