‘हिरोहरू’ छुटाउन एक भए स्थानीय, रामपुरमा ‘धुर्मुस–सुन्तली’ र रेणुको मिटर डाउन

भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को तल्लोस्तरको गालीगलौज र अपमान सहेर बसेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आसपास बस्दै आएका स्थानीय जनताले उनीहरूलाई सबक सिकाएका छन् ।

राष्ट्रिय कलाकारको पहिचान बनाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशाला निर्माणस्थल आसपासमा बनाएको जस्तापाताको बार स्थानीयले भत्काइदिएपछि त्यसको विरोधमा स्थानीयलाई ‘अपराधी’, ‘देशद्रोही’, ‘नागरिकता खोस्नुपर्ने’, ‘जुत्ताको माला लगाउनु पर्ने’ जस्ता अत्यन्तै तल्लोस्तरका अभिव्यक्ति दिएका थिए ।

यी अभिव्यक्तिहरूको आलोचना भएको थियो । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जत्तिको व्यक्तिले दिएका अभिव्यक्ति दिन सुहाउँछ कि सुहाउँदैन भनेर प्रश्न उठेका छन् ।

आफूहरूको अपमान हुँदा पनि चुपचाप बसेका पीडित गाउँलेहरूले आफैले भत्काएको बार पुनः बनाइदिएका छन् । माग पूरा गराउन दवाव दिन बार भत्काउने मात्रै होइन जनश्रमदान गरेर बार उठाउन पनि सक्छौँ भन्ने उदाहरण रामपुरका स्थानीयले दिएका छन् ।

स्थानीय टोल विकास संस्थाहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई सुरक्षा दिने प्रतिवद्धता समेत जनाएका छन् । आफूले भत्काएको बार स्थानीयहरूले शनिबार बिहान उठाइदिएर मानवीय व्यवहार देखाएका छन् ।

स्थानीय पाँच वटा टोल विकास संस्थाहरूले निर्माण कार्य शुरू गर्न ‘धुर्मुस सुन्तली फाउन्डेशन’लाई आग्रह गरेका छन् ।

तर, स्थानीयहरूले आपत्तिजनक र अपमानित हुने गरेर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले दिएका अभिव्यक्तिहरूमा माफी माग्नुपर्ने अडान पनि राखेका छन् ।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले स्थानीय समाजसेवी एवम् युवा नेता प्रकाश कँडेलसहित पक्राउ परेका सबैलाई विनासर्त रिहाइको माग गरेका छन् ।

पाँच वटा टोल विकास संस्थाहरूले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पक्राउ परेका प्रकाश कँडेलसहितका स्थानीयलाई विनासर्त रिहाइ गर्न माग गरेका हुन् । उनीहरूले पक्राउ परेकाहरूलाई नछाडिए आन्दोलनको सामना गर्न प्रहरी, स्थानीय प्रशासन र महानगरपालिकालाई चेतावनी समेत दिएका छन् ।

स्थानीय ५०–६० घरलाई उठिबास लगाउने गरेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले डीपीआर तयार पार्न लागेपछि स्थानीयले आफूहरूको घरजग्गा सुरक्षाको माग गर्दै दुई दिन अगाडि रंगशाला बनाउने स्थानमा लगइएको जस्तापाताको बार भत्काइदिएका थिए ।

स्थानीयले बार भत्काएपछि सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तल्लोस्तरको शब्द प्रयोग गरेर स्थानीयहरूलाई गालीगलौज गर्नुका साथै स्थानीय जनताको पक्षमा आवाज उठाउँदै आएका युवा नेता प्रकाश कँडेललाई ‘अपराधी’, ‘देशद्रोही’ र नागरिकता खोसेर निकाला गर्नुपर्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

आबेगमा आएर रंगशाला निर्माणस्थलका स्थानीयविरुद्ध मिडियाबाजी गरेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले माफी माग्नुपर्ने अवाज जोडदार रुपमा उठेको छ ।

उता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले राजनीतिक प्रभाव र दवावमा परेर प्रकाश कँडेलसहितका व्यक्तिहरूविरुद्ध अदालतमा मुद्धा दर्ता गराएका छन् । कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक रहिसकेका एसपी मल्लले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको दवावमा प्रकाश कँडेलसहितका आफ्नै मतदाताहरूविरुद्ध मुद्धा दर्ता गराउन दवाव दिएको स्थानीय पीडितहरूले बताएका छन् ।

रंगशाला जाने सडक विस्तारको विषयलाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तथा स्थानीयवीच विवाद थियो । यो विवाद मिलाउन स्थानीयहरूले पटक पटक लिखित र मौखिक रुपमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’का साथै मेयर रेणु दाहाललाई पनि आग्रह गर्दै आएका थिए ।

आफूहरूको मागको सुनुवाई कतैबाट सुनुवाई नभएपछि बाध्य भएर दवाव दिन बार भत्काएको प्रतिक्रिया सामाजिक अगुवा रामचन्द्र बस्ताकोटीले बताएका छन् । उनले प्रकाश कँडेलसहित पक्राउ परेका सबैलाई रिहाइ गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक अभियन्ता रीता बस्ताकोटीले पनि आफूहरूको मागको सुनुवाई नभएपछि बाध्य भएर बार भत्काएको बताइन् । मिडियामा पर्खाल भत्काएको भनेर स्थानीयको बदनाम गरिएको बताएकी उनले आफूहरूको उठिबास लगाउन खोजेपछि बाध्य भएर बार भत्काएको स्वीकार गरिन् । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को कामको आफूहरूले प्रशंसा गरे पनि उनीहरूको व्यवहारलाई स्वीकार गर्न नसक्ने बस्ताकोटीले बताएकी छिन् । उनले भनिन्, ‘उठिबास लाग्ने भएपछि बाध्य भएर बार भत्काएका हौँ । अन्तिम बिकल्पका रुपमा कदम उठाएका हौँ । यसबाट हामी सबैलाई कुनै पछुतो छैन ।’

रामपुर कृषि क्याम्पससँग कुरा गरेर बाटो निकाल्ने सहमति भइसकेको अवस्थामा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को रंगशाला निर्माणको कुराले बिथोलेर विवाद ल्याइदिएको स्थानीयहरूले बताएका छन् ।

रंगशाला र स्थानीयका बीच सडक विस्तारलाई लिएर विवाद छ भन्ने कुराको जानकारी मेयर रेणु दाहाल र वडाध्यक्षलाई थियो । तर, समयमा समस्या समाधानमा उनीहरूले किन चासो देखाएनन् भनेर प्रश्न पनि उठेको छ ।

Published : Saturday, 2019 June 1, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया