कांग्रेसको केन्द्रीय कार्यालय एक दिन बन्द हुने, कायस्थको निधनले पार्टीलाई क्षति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामो समयसम्म कार्यरत कर्मचारी सुदर्शन मेहर कायस्थको निधन भएको छ ।

बिहीबार राति पाटन अस्पतालमा उपचारका क्रममा कायस्थको असामयिक निधन भएको हो ।

स्वर्गीय कायस्थ नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विक्रम संवत २०५० सालदेखि कार्यरत थिए ।

स्वर्गीय कायस्थले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदर्शन मेहर कायस्थको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसप्रति समर्पित, निष्ठावान, प्रतिवद्ध सुदर्शन मेहर कायस्थको निधनले मलाई दुखित र मर्माहत बनाएको छ’, देउवाले शोक सन्देशमा भनेका छन्, ‘उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

‘स्वर्गीय कायस्थप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन ।

कायस्थको पशुपति आर्यघाटमा शुक्रबार दाहसंस्कार गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय कायस्थको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्वर्गीय कायस्थप्रति सम्मान प्रकट गर्दै २०७६ जेठ १९ गते एक दिन पार्टीको केन्द्रीय कार्यालय बन्द रहनेछ र पार्टीको झण्डा आधा झुकाइनेछ ।

पार्टीको केन्द्रीय कार्यालयमा लामो समयसम्म निरन्तर क्रियाशील रहेर स्वर्गीय कायस्थले नेपाली कांग्रेसमा पुराएको योगदानको स्मरण गर्दै उनीप्रति नेपाली कांग्रेसले हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ ।

Published : Saturday, 2019 June 1, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया