‘हिरो’ बने प्रकाश कँडेल, ‘धुर्मुस–सुन्तली’को चितवनमा अर्कै काण्ड

भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ ।

रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ ।

‘धुर्मुस–सुन्तली’का कारण बाटोमा पर्ने ५०–६० घरलाई भत्काएर सडक बनाउने तयारी गरेपछि आक्रोशित बनेका स्थानीयले बार भत्काएर विरोध जनाएका हुन् । सीताराम कट्टेल ‘धुर्मुस’ले स्थानीयसँग सडक विस्तारमा विवाद हुँदा समस्या समाधानमा गम्भीर ध्यान नदिएको स्थानीयको आरोप छ ।

‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई कार्यालय राख्न घर दिएकी स्थानीय चन्द्रकला रामदामले रंगशालासम्म पुग्ने सडक विस्तारको विषयमा विवाद भएको जानकारी दिइन् ।

‘रंगशाला बनोस् भनेर हामी सबै गाउँले उत्साहित छौँ । मैले थोरै भाडा लिएर पूरै घर धुर्मुसलाई कार्यालय राख्न दिएको छु’, उनले भनिन्, ‘रंगशालालाई अबरोध गर्ने हाम्रो कुनै मनसाय छैन ।’

चन्द्रकलाले सडक बनाउने विषयमा निजी जग्गा काटिने भएपछि आफूहरूले त्यसबारेमा कुरा उठाएको बताइन् । उनले भनिन्, ‘सडक बनाउने भए अर्कोतर्फ रहेको सरकारी जग्गालाई प्रयोग गर्नुपर्छ । यो विषयमा सीताराम कट्टेल ‘धुर्मुस’ले मान्नुभएन । अनि विवाद भयो ।’

बाटोको छेउमा रहेका घरहरूलाई हटाएर सडक बनाउन खोजेपछि आफूहरूले विरोध गरेको उनले बताइन् । ‘पाँच–दश धुरमा घर बनेका छन् । सडक बनाउने भएपछि हाम्रो घर जग्गा जान्छ’, उनले भनिन्, ‘१८ लाख मुआब्जा दिने कुरा भएको छ । त्यो १८ लाखले के हुन्छ ? यहाँ चलनचल्तीमा १ करोडदेखि डेढ करोडसम्मको कारोबार हुँदै आएको छ ।’

रंगशाला बनाउने भनिएको स्थानसम्म पुग्न अहिले रहेको बाटो ८–९ मिटरको छ । सीताराम कट्टेलले रंगशालासम्म पुग्न अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउँदा ३६ मिटरको बाटो हुनुपर्ने बताएका छन् ।

बाटो फराकिलो बनाएर सडक बनाउन लागिएको विषयमा स्थानीयहरूले सीताराम कट्टेल ‘धुर्मुस’सँग वार्ता पनि गरेका रहेछन् । वार्ताका क्रममा सीताराम कट्टेल ‘धुर्मुस’ले दिएको जवाफ उदृत गर्दै चन्द्रकलाले भनिन्, ‘धुर्मुसज्यूले सडक बनाउँदा के हुन्छ मलाई थाहा छैन । रंगशालाको डीपीआर बन्दै छ भन्नुभएको छ । डीपीआर बनेर आएपछि सडक बनाउने जग्गा दिन पनि सकिन्छ । नदिन पनि सकिन्छ भन्नुभएको छ ।’

अहिले आएर सीताराम कट्टेलले ‘रंगशाला बनाउन ४० बिघा जग्गा चाहिने रहेछ मैले २० बिघा जग्गा मात्रै मागेर गल्ती गरेँ’ भन्दै हिँड्न थालेका छन् ।

स्थानीयहरूले रंगशालातिर रहेको रामपुर कृषि क्याम्पसको जग्गालाई काटेर सडक विस्तार गर्न सुझाव दिएका छन् । यो प्रस्तावलाई सीताराम कट्टेल ‘धुर्मुस’ले मानेका छैनन् ।

टोल विकास समितिका अध्यक्ष मीनबहादुर बस्नेतले पनि सीताराम कट्टेल ‘धुर्मुस’सँग कुराकानी हुँदा स्थानीयको पीरमर्का बुझ्ने विषयमा कुनै चासो नदिएको बताए । ‘सडक बनाउने विषयमा स्थानीयको जग्गा काटिने र सुकुम्बासी बन्ने कुरा भनेका थियौँ । उहाँले खासै चासो दिनुभएन । महानगरपालिकामा पनि लेखेर समस्याको समाधन खोज्न भन्यौँ । कुनै जवाफ आएन’, अध्यक्ष बस्नेतले भने, ‘कसैले पनि चासो र ध्यान नदिएपछि विद्यार्थी नेता प्रकाश कँडेलले स्थानीयको पीरमर्का बुझेर नेतृत्व लिएर बार भत्काइदिनुभएको हो ।’

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आरोप लगाए जस्तो कमिशन मागेर दुःख दिएको भन्ने कुरालाई अध्यक्ष बस्नेतले सिधै अस्वीकार गरिदिएका छन् । ‘हामीसँग मिडिया छैनन् । उहाँहरू ठूलो मान्छे हुँभन्दैमा जे पायो त्यही आरोप लगाउन पाइँदैन’, उनले भने ।

टोल विकास समितिका अध्यक्ष बस्नेतले प्रकाश कँडेल गलत व्यक्ति नरहेको बताए । रंगशालाको बार भत्काइएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेल स्थानीयस्तरमा लोकप्रिय नेता मान्छिन् । स्थानीय जनताको हरेक समस्यामा आफै अगाडि आएर सहयोग गर्दै आएका प्रकाश कँडेललाई सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशालाको बार भत्काएकै कारण ‘अपराधी’ भनेपछि प्रकाश कँडेलको विरुद्धमा स्थानीयले कुनै कुरा वा आलोचना सुन्न मान्दैनन् ।

स्थानीयलाई पेलेरै आफ्नो काम अगाडि बढाएका ‘धुर्मुस–सुन्तली’ मिडिया र सामाजिक सञ्जालमा लोकप्रिय भएपनि स्थानीयका कुरा प्रकाश कँडेलले साथ दिएका कारण जति नै विरोध भएपनि स्थानीयले प्रकाश कँडेलको बचाउ गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले बिहीबार विज्ञप्ति जारी गरेर प्रकाश कँडेललाई ‘उदण्ड’भन्दै पार्टीबाट निस्किाशित गरेका छन् । स्थानीय जनताको पक्षमा आवाज उठाउने प्रकाश कँडेललाई अध्यक्ष परियारले ‘उदण्ड’ शब्द प्रयोग गरेकोमा विरोध भएको छ । अध्यक्ष परियारलाई नै कारबाही गर्न चितनवका स्थानीय नेकपाका नेताहरूले दवाव दिन थालेका छन् ।

रंगशाला निर्माणस्थलसम्म पुग्ने बाटोलाई विस्तार गरेर सडक बनाउने विषयमा मेयर रेणु दाहाललाई पनि पहिलादेखिनै जानकारी थियो । तर, मेयर दाहालले पनि समयमा समाधान खोज्न कुनै पनि पहल नगरेको टोल विकास समितिका अध्यक्ष बस्नेतले बताए ।

प्रकाश कँडेल स्थानीय जनताको नजरमा हिरो । धुर्मुस–सुन्तलीको नजरमा अपराधी ।

मेयर दाहालले पनि विज्ञप्ति जारी गरेर प्रकाश कँडेललाई कारबाहीको माग र बार भत्काएकोमा क्षतिपूर्ति भराउन दवाव दिएकी छिन् । कुनै बेला मेयरमा रेणु दाहाललाई जिताउन विशेष भूमिका खेलेका प्रकाश कँडेललाई आहिले आएर पार्टीभित्रैबाट गुटको राजनीतिका कारण कारबाहीमा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पनि काम देखाउन प्रकाश कँडेलसहितका व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही शुरू गरेका छन् । तर, त्यहाँको विवादको जड के थियो भन्नेबारेमा एसपी मल्लले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

बार भत्काउन बिहान साढे छ बजेबाट शुरू भएको थियो । साढे चार घण्टा लगाएर बार भत्काइएको समितिका अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘नजिकै रहेको प्रहरी प्रशासन कहाँ थियो ? मेयर रेणु दाहाल कहाँ हुनुहुन्थ्यो ? अहिले आएर पानीमाथिको ओभानो बन्न खोज्ने ? प्रकाश कँडेल र स्थानीयलाई दोष दिने ?’

‘धुर्मुस–सुन्तली फाउण्डेशन’की कुञ्जना घिमिरे ‘सुन्तली’ले प्रकाश कँडेललाई ‘अपराधी’ भनेर घोषणा गरेकी छिन् । समाजमा राम्रो प्रतिष्ठा र लाखौँ शुभेच्छुक कमाएकी राष्ट्रियस्तरको कलाकारले अदालतले अपराधी नभन्दै कसरी अपराधी घोषणा गरिन् ? प्रश्न उब्जिएको छ । आबेगमा आएर युट्युबहरूमा दिइएका कुञ्जना घिमिरे ‘सुन्तली’का अभिव्यक्तिहरू अत्यन्तै अपात्तिजनक र घृणाले भरिएका छन् ।

कुञ्जना घिमिरे ‘सन्तली’ले प्रकाश कँडेललाई देशद्रोही सम्म भन्न भ्याएकी छिन् । ‘प्रकाश कँडेल देशद्रोही हो । तीन करोड नेपालीको दोषी हो । सरकारले कारबाही गर होइन भने यो सरकारले राजीनामा गर’, उत्तेजित हुँदै उनले भनेकी छिन्, ‘सरकारले रंगशाला बनाउन सकेन । जनताले हामीलाई खोजे । सरकारले बनाउन लागेको क्रिकेट रंगशाला १५–१६ वर्षदेखि गोकर्णमा अलपत्र परेको छ । जनताले जनप्रतिनिधि र सरकारलाई खोजेनन् । हामीलाई खोजे ।’

कुञ्जना घिमिरे ‘सुन्तली’ले भनेकी छिन्, ‘त्यस्ता अपराधी, देशद्रोही प्रकाश कँडेलको नागरिकता खोसिनुपर्छ । त्यो नेपाली नागरिक होइन । अन्यत्रै लखेटियोस् । त्यस्ता सन्तानलाई बाँच्ने अधिकार छैन । त्यस्तो सन्तान जन्मदिन आमा…। त्यो व्यक्तिलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्छ ।’

‘यो जतिपनि बार बनेको छ । जतिपनि काम भएको छ । सबै मलेसिया, कतार, दुबइमा काम गर्ने खाडीमा काम गर्ने, रगत पसिना बगाउने आफ्नो तरकारी खर्च कटाएर दिएको दाजुभाई दिदी बहिनाको पसिनालाई त्यसले हिजो डोजर लगायो’, उनले भनेकी छिन्, ‘प्रकाश कँडेल भन्ने मान्छेको पृष्ठभूमिमा नै जान जरुरी छ सबै जना । हिजो कहाँबाट आयो ? यो गाउँ र यो ठाउँको पनि होइन रे त्यो मान्छे । त्यो मान्छे कहाँबाट आइरहेको छ ? हामीलाई किन बिर्गादै छ । हामीलाई त्यसले के नराम्रो कुरा सिकाउँदै छ भन्ने कुरा सबै गाउँलेले सिक्न जरुरी छ ।’

‘यहाँ रंगशाला बन्ला–नबन्ला यदि तपाईहरूको मानसिकता बनेन भनेपछि यो रंगशाला सञ्चालनमा पनि आउँदैन । त्यो व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो भनिएको छ । त्यसले चित्त बुझ्दैन । त्यस्ता धेरै नियन्त्रणमा लिएका छन् । त्यो अपराधी हो । कोही अपराधका नाममा निर्दोष मान्छे पक्राउ गरे पनि अहँ हामी कसैलाई पनि चित्त बुझेन । त्यो अपराधीलाई खुलेआम अनुहार देखाउनुपर्छ । यो अपराधी हो भनेर जुत्ताको माला लगाउनुपर्छ । जति पनि बाहिरबाट रकम ल्याएर यहाँ बगाएका छौं सहयोगी मनहरूसँग घुँडा टेकेर माफी माग्नुपर्छ ।’
सीताराम कट्टेल ‘धुर्मुस’ले पनि प्रकाश कँडेललाई ‘अपराधी’ भनेका छन् ।

सामाजिक सञ्जालमा प्रकाश कँडेलको तस्वीर बिगार्नेदेखि तल्लोस्तरसम्मको गालीगलौज गर्नेसम्म कार्य भएका छन् । विकासको नाममा धुर्मुस–सुन्तलीले गरेका सबै काम ठीक छन कि छैनन् यो अलग विषय हो । तर, स्थानीयलाई सुकुम्बासी बनाएर सस्तो लोकप्रियताका नाममा धुर्मुस–सुन्तलीले स्थानीय जनतालाई खराब देखाउने जुन कार्य भएको छ त्यो गलत रहेको सामाजिक सञ्जालमा झिनो स्वरमा उठ्न थालेको छ ।

(दैनिक नेपाल डटकमबाट साभार)

Published : Friday, 2019 May 31, 1:58 pm

5 प्रतिकृया प्राप्त “‘हिरो’ बने प्रकाश कँडेल, ‘धुर्मुस–सुन्तली’को चितवनमा अर्कै काण्ड”

  • होईन! बाटो त नियमानुसार छोड्ने होईन र? नियम मिचेर त पास हुन्न होला ! कसैको घर बाटोमा परे सरकारले हेर्नुपर्छ ।

  • मुसहरलाई घर बनाइदिने । अनि चितवनकालाई मुसहर बनाउने । धुमुर्स सुन्तलीका योजना ।

  • Aafu kehi janta samu hiro banne hauma aru kehi jantalai sukumbasita banauna paiyanani hoina ra!!!

  • सबै भन्दा पहिले म यो भन्न चाहन्छु कि धुर्मुस सुन्तली मेरो लागि कुनै भगवान होइनन् र कहिल्यै बन्न नि सक्दैनन् त्यसैले यो आफैले आफैलाई सारा ३ करोड नेपालीको भगवान भनी भन्न बन्द गर्नु।
    अब मेरो अर्को प्रश्न स्वयं धुर्मुस, सुन्तली अनि तिनका समर्थक लाई अरुलाई देश द्रोही भन्न सजिलो छ तर म पनि हेरुम न;
    कुन चाहिँ देश को सपूत ले भोलि गएर बाटो पर्ने ठाँउ को घर जग्गा किनेर सरकार लाई सरकारी मुल्यांकन मा जग्गा दान गर्न सक्छ? छ कोहि त जानू बाटो मा पर्ने जग्गा हाल को मूल्य तिरेर किनिदिनु।

    जुत्ता को माला कसलाई लगाउने अर्काको बाउ बाजेको सम्पत्ति खोस्न खोज्ने लाई कि आफ्नो हक अधिकार को लागि लड्ने लाई आफै प्रश्न गर्नु?

    मिलन महर्जन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया