सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जादु चल्यो, बाजुरामा कांग्रेस मालामाल

मार्तडी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका छन् ।

बाजुरा जिल्लाको मार्तडीमा बिहीबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका एक सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरूलाई वरिष्ठ नेता पौडेलले टीका र पार्टी सदस्यता प्रदान गरेका थिए ।

निर्वाचनका बेला बोलेको कुराहरू नेकपाका जनप्रतिनिधिहरूले अहिले आएर भुलेको भन्दै उनीहरूले कम्युनिस्टहरूको झुठा आश्वासमा परेर दुःख पाएको बताए । उनीहरूले अबका दिनमा नेपाली कांग्रेसमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरू भनेका सधै झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताए । ‘कम्युनिस्टहरूले जनतालाई ढाँट्न माहिर हुन्छन्’, उनले भने, ‘कांग्रेसले जे बोल्छ त्यो गर्छ । कम्युनिस्टहरूले जस्तो झुठ बोल्दैन ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बुधबार ल्याएको बजेट जनतालाई झुक्काउने वितरणमुखी रहेको बताए ।

‘यो बजेटले जनतालाई राहत दिँदैन । जनताको पक्षमा कुनै पनि कुरा छैन । कृषिका नाममा फेरि पनि जनतालाई ढाँट्ने काम हुँदै छ’, उनले भने, ‘कांग्रेससँग सोधेको भए बरु हामीले राम्रो सल्लाह र सुझाव दिन थियौँ ।’

Published : Thursday, 2019 May 30, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया