कम्युनिस्ट सरकारको दिन गन्ती हुने गरी देउवाले दिए धम्की

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरू गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा देउवाले कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरू गरिसकेकाले त्यसको प्रतिवाद गर्न कांग्रेस तयार हुनुपर्ने बताए ।

लोकतन्त्रको रक्षाका लागि देउवाले पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्था रहन निर्देशन दिए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफ्नै मन्त्रीहरूमाथि विश्वास नरहेको भन्दै देउवाले देशको शासन व्यवस्था नै खतरामा परेको बताए ।

‘हामीले बारम्बार दुःख दिँदै आएको व्यवस्था (राजतन्त्र) अन्त्य गरेर लोकतन्त्र तथा गणतन्त्र ल्याएका हौँ’, कांग्रेस सभापति देउवाले भने, ‘अहिलेको सरकार यो व्यवस्था मास्नतर्फ लागेको देखिन्छ ।’

देउवाले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । उनले धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रूपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘लोकतन्त्रका लागि कांग्रेससले हिजो पनि संघर्ष गरेकै हो’, उनले भने, ‘आजपनि गरिरहेको छ र भोलि पनि गरिरहनेछ ।’

लोकतन्त्र जीवित रहन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको देउवाले बताए । ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन’, उनले भने, ‘प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न शुरू गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

Published : Thursday, 2019 May 30, 7:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया