लीलबहादुर बस्नेतले राखे सगरमाथामा कीर्तिमान, काठमाडौंमा भव्य स्वागत (तस्वीर)

काठमाडौं । आठ दिनभित्र सगरमाथाको चुचुरो चुम्न सफल लीलबहादुर बस्नेतलाई त्रिभुवन विमानस्थलको आन्तरिक उड्डयन कक्ष बाहिर भव्य स्वागत गरिएको छ ।

आफन्त र शुभेच्छुकहरूले शनिबार बिहान कीर्तिमान बनाउन सफल भएका आरोही बस्नेतलाई राष्ट्रिय झण्डासहित फूलमाला र अबिरले स्वागत गरिएको हो । आरोही बस्नेत शनिबार बिहान करीव दश बजे त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा आइपुगेका थिए ।

सगरमाथा आरोही बस्नेतले २२ तारिखका दिन बिहान करीव ९ बजे सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

सहयोगी बिनै एक्लै सगरमाथाको चुचुरोमा पुगेका बस्नेतलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका थिए ।

बस्नेतले सगरमाथा चढ्ने लक्ष्य दश दिनको राखेका थिए । तर, दुई दिन अगाडि नै आठ दिनभित्र उनले सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं आइपुगेका छन् ।

मे १८ तारिखका दिन काठमाडौंबाट शुरू भएको बस्नेतको सगरमाथा चढ्ने यात्रा मे २५ तारिखका दिन काठमाडौंमा अन्त्य भएको छ ।

यसअघि काठमाडौंबाट शुरू भएको सगरमाथाको यात्रा यति छाटो समयभित्र कसैले पनि तय नगरेको बस्नेतले दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मैले काठमाडौंबाट शुरू गरेको सगरमाथाको चुचुरोमा चढेर पुनः काठमाडौं छोटो समयभित्र आइपुग्ने रेकर्ड बनाएको छु । आठ दिनभित्र मैले सगरमाथाको सफल आरोहण गरेको छु ।’

सहयोगीलाई लिएर गएका बस्नेतले अन्तिम समयमा आफ्नो खाना, अक्सिजनसहितका सामान आफूले बोकेर सगरमाथा चढेका थिए ।

‘मसँग गएको सहयोगी बिरामी भएपछि बाटोबाट फर्काइदिए’, उनले भने ।

उनले आफूले सफलताका साथ उदेश्यअनुरुप सगरमाथा चढेर काठमाडौं आइपुगेकोमा खुसी व्यक्त गरेका छन् ।

दोलखा जिल्लाको लामाबगर निवासी बस्नेतले भरियाका रुपमा चार पटकसम्म सगरमाथा चढिसकेका छन् ।

यसपटक उनले देशको नाम राख्न काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्मको यात्रा आफैले गरेका छन् ।

Published : Saturday, 2019 May 25, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया