भारतमा कम्युनिस्टहरूको बीउ नास हुनबाट बालबाल बच्यो

काठमाडौं । भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ ।

३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो ।

२००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो ।

यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ । बंगालमा त्रिणमुल कंग्रेसले ४३.९५ मतसहित २२ र भाजपाले ४०.२५ मतसहित १८ सिट जितेका छन् ।

कंग्रेसले ५.६२५ मतसहित २ सिट जितेको छ । सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९५ मत पाएको छ ।

त्रिपुरामा १७.३३५ मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१५ छ ।

केरला राज्य सरकारमा सत्तारुढ दल सो पार्टीले २५.६९५ मत ल्याएर पनि जम्मा एक सिटमा अग्रता लिएको छ । भारतभर उसले पाएको अग्रता यही हो ।

३७.२७५ मतका साथ कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।

जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैयाकुमार सबैभन्दा चर्चित उम्मेदवार थिए । जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तरसम्मका साहित्यकार उनको प्रचारमा आएका थिए ।

यो क्षेत्रमा कन्हैयाको दल सिपिआईले एक लाख ९२ हजार मत मात्र प्राप्त गरेको थियो । कन्हैयाले एक लाख मत बढाए ।

नरेन्द्र मोदीको आँधीका अगाडि उनको केही चलेन । उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे ।

केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरिराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरे । यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे ।

भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलेब्रिटीले चुनाव जितेका छन् । मथुराबाट हेमा मालिनीले जित दोहोर्‍याएकी छिन् ।

उनका छोरा सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट पहिलोपटक चुनाव जितेका छन् ।

भोजपुरी स्टार रविकिसनले गोरखपुरबाट पहिलोपटक चुनाव जितेका छन् । मनोज तिवारीले दिल्लीबाट जित दोहोर्‍याएका छन् ।

दिल्लीमा संगीतकार हंसराज हंसले पनि भाजपाबाटै चुनाव जितेका छन् । क्रिकेटर गौतम गम्भीरले दिल्लीबाटै चुनाव जितेका छन् ।

भाजपाबाटै टिकट पाए पनि जयप्रदाले उत्तर प्रदेशको रामपुरबाट हारेकी छिन् । उनलाई समाजवादी पार्टीका आजम खानले हराएका छन् ।

भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हालाई यसपालि कंग्रेसले साथ दिएको थियो । सिन्हालाई पटना साहिवका जनताले साथ दिएनन् ।

मुम्बईमा कंग्रेसकै तर्फबाट उठेकी उर्मिला मातोडकरले पनि चुनाव जित्न सकिनन् । उर्मिलाले पराजय भोग्नु परेको छ ।

Published : Friday, 2019 May 24, 12:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया