लीलबहादुरले बनाए सगरमाथामा रेकर्ड, राखे देशको नाम

काठमाडौं । लीलबहादुर बस्नेतले नयाँ रेकर्ड बनाउने उदेश्यसहित सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।

सगरमाथा आरोही बस्नेतले २२ तारिखका दिन बिहान करीव ९ बजे सगरमाथाको चुचुरामा नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

सहयोगी बिनै एक्लै सगरमाथाको चुचुरोमा पुगेका बस्नेत शनिबार बिहान ११ बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

बस्नेतले आठ दिनभित्र सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं फर्कने पहिलो आरोहीको रेकर्ड बनाएको दाबी गरेका छन् ।

‘अझै बाटोमा छु । शनिबार बिहान ११ बजेसम्म काठमाडौंस्थित विमानस्थलमा उत्रिने योजना छ’, उनले भने, ‘सबैको साथ रह्यो भने मेरो उदेश्यमा सफल हुन्छु ।’ उनले दश दिनको लक्ष्य राखेर सगरमाथा चढ्न काठमाडौंबाट हिँडेका थिए । लक्ष्य राखिएको दिनभन्दा दुई दिन अगाडि नै बस्नेतले उदेश्य पूरा गर्दै छन् ।

मे १८ तारिखका दिन काठमाडौंबाट शुरू भएको बस्नेतको सगरमाथा चढ्ने यात्रा मे २५ तारिखका दिन काठमाडौंमा अन्त्य हुनेछ ।

यसअघि काठमाडौंबाट सगरमाथाको चुचुरोसम्म पुगेर छोटो समयमा सगरमाथा आरोहण गरी फर्किएको रेकर्ड कसैले बनाएका छैनन् ।

बेस क्याम्पबाट छिटो सगरमाथा चढ्ने लगायतका रेकर्ड बनाएपनि बस्नेतको यो नयाँ रेकर्ड रहेको उनले दाबी गरेका छन् ।

सगरमाथाका विभिन्न स्थानमा बसेका सरकारी कर्मचारीहरूले बस्नेतको रेकर्डको तथ्याङकहरू राखेका छन् । ती तथ्याङकहरूको आधारमा बस्नेतलाई पर्यटन मन्त्रालयले प्रमाणपत्र दिनेछ ।

सहयोगीलाई लिएर गएका बस्नेतले अन्तिम समयमा आफ्नो खाना, अक्सिजनसहितका सामान आफूले बोकेर सगरमाथा चढेका थिए । ‘मसँग गएको सहयोगी बिरामी भएपछि बाटोबाट फर्काइदिए’, उनले भने, ‘म काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म छोटो समयभित्र यात्रा गरेर रेकर्ड बनाउने उदेश्य राखेर हिँडको व्यक्ति बीच बाटोबाट फिर्ता हुने कुरै थिएन ।’

उनले आफूले सफलताका साथ उदेश्यअनुरुप सगरमाथा चढेर उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘एक्लै भएका कारण बीच बाटोमा अक्सिजन सक्किएको थियो । बालबाल बचेर पनि उदेश्य पूरा गर्दै छु । खुसी छु ।’

दोलखा जिल्लाको लामाबगर निवासी बस्नेतले भरियाका रुपमा थुप्रै पटक सगरमाथा चढिसकेका छन् । यसपटक उनले देशको नाम राख्न काठमाडौंदेखि सगरमाथाको चुचुरोमा चुमेर पुनः काठमाडौं आउन लागेकोमा आफूभित्र ठूलो उत्साह थपिएको प्रतिक्रिया दिएका छन् ।

Published : Friday, 2019 May 24, 10:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया