नेपाली कांग्रेसले पायो नयाँ कार्यबाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

सभापति देउवा उपचारका लागि बुधबार राति सिंगापुर गएका छन् । देउवाको अनुपस्थितिमा निधिले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा विदेश प्रस्थान गरेकाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभा निर्वाचनमा धनुषा जिल्लाबाट पराजित भएका निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएकोमा असन्तुष्टि बढेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल हुँदा हुँदै देउवाले निधिलाई कार्यबाहक सभापति दिएपछि विरोध भएको छ ।

अर्का उपसभापति विजय गच्छदारलाई नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी दिइएन । गच्छदार संसदीय दलको उपनेता पनि हुन् ।

सभापति देउवा गुटका नेताका रुपमा चिनिएका निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएकोमा देउवा गुटै नेताहरू पनि असन्तुष्ट छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

देउवाको पेटमा समस्या भएपछि उपचार गर्न बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सभापति देउवासँग पत्नी आरजु राणा पनि साथमा गएकी छिन् । उपचारपछि देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

000

जेठ ९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यू विदेश प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति श्री विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Thursday, 2019 May 23, 9:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया