‘गोरे’सँगभन्दा धेरै सुन मन्त्रीका पत्नीहरूसँग रहेको रामहरि खतिवडाको खुलासा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वर्तमान सरकार भ्रष्टाचार र बिचौलियाको चंगुलमा आफू संलग्न रहेको आरोप लगाएका छन् ।

एभिन्यूज टेलिभिजनको ‘वाकयुद्ध’ कार्यक्रममा कांग्रेसका नेता खतिवडाले बुढी गण्डकी, वाइड बढी लगायतका घोटालामा वर्तमान कम्युनिस्ट सरकारको संलग्नता रहेको बताएका हुन् । उनले गृहमन्त्रीकै छोरा बिचौलिया बनेको आरोप पनि लगाएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको भाषण सुनेर नेपाली जनता दिक्क भएको खतिवडाको भनाइ छ । ‘हाम्रो देशको प्रधानमन्त्रीलाई गाली गर्दा मलाई पनि अफ्ठ्यारो लाग्छ’, उनले भने, ‘वीपी कोइरालाले १८ महिला शासन गर्नुभयो । ०१५ सालमा उहाँको उपलब्धि नेपालमा स्वर्णिम अक्षरले लेखिनेछ । मनमोहन अधिकारीले ९ महिना शासन गर्नुभयो त्योपनि साध्यै उल्लेखीय छ ।

खतिवडाले भनेका छन्, ‘सम्माननीय खड्गप्रसाद ओली प्रधानमन्त्री भइसकेपछि १५ महिना सरकारको उपलब्धि हेर्ने हो भने गफभन्दा बाहेक त्यसमा केही भएको छैन । भ्रष्टाचार चरम चुलीमा पुगेको छ । महँगी बढेको छ, जनतामा निराशा उत्पन्न भएको छ । नकिजकका ठेकेदारहरूमा बिचौलियापनको बढोत्तरी भएको छ ।’

‘कानूनी राज्य समाप्त भएको छ, प्रेस स्वतन्त्रतामाथि हनन् भएको छ, मानवअधिकारमाथि अट्याक भएको छ, हुँदाहुँदा सेनामाथि पनि सुरक्षा परिषदमा नयाँ ऐन ल्याएर सेनामाथि पनि अट्याक भएको छ’, उनले भने, ‘विपक्षी दल लुक्योभन्दा पनि मुलुकलाई लुकाउने खेल भएको छ । यो सरकारले जनतालाई नै प्रतिपक्ष बनाइ सक्यो ।’

कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘दुई तिहाइको कम्युनिस्ट सरकार नेपालको इतिहाँसमा यति धेरै भ्रष्टाचार भएको छ । चाहे वाइड बढीको भन्नुस् । चाहे एनसेल प्रकरण भन्नुस् । शान्ति सुरक्षा बिग्रिएको छ । बुढीगण्डकी कसको पालामा भयो ?३३ किलो सुनका ठूलामाछाहरूलाई समात्छु भनेर कसले भन्यो ? गृहमन्त्रीले बिहानदेखि बेलुकासम्म त्यही कुरा भन्नु हुन्थ्यो । कसलाई कारबाही भयो ? कसैलाई कारबाही भएको छैन । गृहमन्त्रीका छोराहरू होटेलमा बसेर बिचौलियाको काम गरिरहेका छन् । हामीसँग प्रमाण छ ।’

‘सत्तामा बस्नेहरूले यो काम गर्ने हो ? अरु कुरा के गर्ने ? प्रधानमन्त्रीको सबैभन्दा नजिक भएको एउटा सांसद हुनुहुन्थ्यो निरु पाल भन्ने, संसदमा उहाँले के भन्नुभयो भने मलाई अट्याक भो, मलाई मार्नलाई यो संसदीय सुनुवाई समितिमा मैले बोलेका कारणले भनेर सदनमा बोल्नुभयो । एउटा आयोग पनि गठन भयो । आजसम्म संसदमाथि अट्याक हुँदा आयोग गठनको रिपोर्ट सदनले एक वर्षसम्म सरकारले प्रस्तुत गर्न सक्दैन । यहाँभन्दा नालायक कुरा केही हुन्छ ? त्यही पनि प्रधानमन्त्रीलाई बाउ भन्ने संसदको हालत यस्तो छ भने अरु जनताको हालत के होला ?’, खतिवडाले भनेका छन् ।

‘नेपालको इतिहाँसमा प्रधानमन्त्रीले बोलेको शब्द संसदबाट डिलेट भएको सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली हुँदा हो । अब के–के शब्द प्रयोग गर्नुपर्ने हो म त्यतातिर गइन । असंसदीय शब्द प्रयोग गरिन’, उनले भनेका छन्, ‘तर, खड्गप्रसाद ओली १५ महिनाको इतिहाँस राजनीतिकको इतिहाँसमा सबैभन्दा कमजोर सरकार बोल्ने मात्रै काम नगर्ने, गफ मात्रै गर्ने भएको छ ।’

‘नेपालको इतिहाँसमा मन्त्री क्वाटरमा बसेर मन्त्रीहरू घरभाडा लिन्छन् । केपी ओलीको पालामा । सांसदहरू घरमा बस्छन् घरभाडा बुझ्न’, उनले भने, ‘हिजोसम्म साइकलमा चढेर मसँग चुनाव खर्च छैन भन्ने मन्त्रीहरूको खातामा मन्त्री भएको भोलिपल्ट पचास लाख रुपियाँ फेला प¥यो । प्रधानमन्त्रीजी यस्तो त नहुनु पर्ने हो ? कहाँबाट भयो ? श्रीमतीको दाइजो रे ! विवाह गर्दा सिन्दुर, पोते, टीका अरुले किनिदिनुपर्ने । ‘गोरे’को भन्दा बढी सुन अहिलेका मन्त्रीका श्रीमतीका नाममा देखिन्छ ।’

उनले भने, ‘निर्मला पन्तको हत्यारालाई देशको उपप्रधान एवम् रक्षामन्त्रीले अब तपाईहरू छाता लिएर फूलमाला लिएर आउनुस् हामीले हत्यारा पक्राउ ग¥यौँ । त्यो बोल्न सुहाउने कुरा हो ?’ खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए ।

‘नेपालको इतिहाँसमा प्रधानमन्त्री कार्यालय पार्टी प्यालेस भएको छ । कहीले ओलीहरू जम्मा भएर भात खाने ठाउँ, कहिले पूर्वप्रधानमन्त्रीहरूलाई केक खुवाउने ठाउँ’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘प्रश्न सोध्दा पत्रकारको जागिर जाने, एयरपोर्टबाट प्रध्यापकलाई पक्राउ गरेर बालुवाटारमा थुन्ने । नेपालको इतिहाँसमा त्यस्तो कहिले भएको छ ? छैन । तर भयो । हामीले आवाज उठायौँ भने प्रधानमन्त्रीले संसदमा जे पायो त्यही अन्टसन्ट बोलिदिने । नेपालको इतिहाँसमा प्रधानमन्त्रीले बोलेको संसद हटाइएको पहिलो चोटी केपी ओलीको पालामा हो ।’

‘प्रतिपक्ष कस्तो हुनुपर्छ भनेर सौहार्दपूर्ण व्यवहार देखाएका हौँ । सडकमा आगो बाल्ने प्रतिपक्ष कांग्रेस होइन । आवश्यक पर्‍यो भने त्यो पनि गरौँला’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षले सहयोगीहरूको तलव आफै लिने, ड्राइभरको तलव आफै लिने, पियनको तलव आफै लिने कहीँ हुन्छ ? कांग्रेसले विरोध गरिरहेको छ ।’

‘हामीलाई शंका कहाँबाट उत्पन्न भयो भने एउटा पत्रकारले प्रश्न गर्छ त्यसको भोलिपल्ट जागिर उड्छ । प्रधानमन्त्री भनेको देशको सार्वभौमसत्ता सम्पन्न व्यक्ति हो’, उनले भनेका छन्, ‘सम्पत्ति सुद्धीकरण विभागको डिजी प्रधानमन्त्री किन हुनु पर्‍यो ? राष्ट्रिय अनुसन्धान विभागको हवल्दा किन प्रधानमन्त्री हुनु पर्‍यो ? राजश्व अनुसन्धान विभागको खरिदार किन प्रधानमन्त्री हुनु पर्‍यो ? प्रधानमन्त्री कार्यालयमा किन राख्नु पर्‍यो ? हिजो प्रधानमन्त्री भएको मान्छे किन जागिर खाएर किन थर्काउनु पर्‍यो ? मानवअधिकार आयोगलाई मेरो अन्तर्गत किन राख्नु पर्‍यो ? प्रधानमन्त्रीको विभाग भनेको मन्त्रीहरू हो । मन्त्रालयहरू नै प्रधानमन्त्रीको विभाग हो । किन विभागीय प्रमुख हुनु पर्‍योभन्दा दालमा कुछ काला है ।’

उनले भनेका छन्, ‘संसारमा कुनै पनि तानाशाह र कम्युनिजममा पहिला दुई वटा कुरामाथि अट्याक हुने काम हुन्छ । पहिलो भनेको प्रेस, उसले भनेका कुरादेखि बाहेक प्रेसमा आउन थाल्यो भने त्यसलाई कसरी अंकुश लगाउने र कसरी निरुत्साहित गर्ने भनेर प्रेसमाथि आक्रमण गर्छ बन्देज लगाउन खोज्छ । त्यो काम अहिलेको सरकारले गर्न थालेको छ । दोस्रो काम न्यायपालिकामाथि किन भने कानूनी राज्य र कानूनी शासन पाएन भने भोलि मान्छे कहाँ जाने ?’

‘चार वर्ष संसदमा जागिर खाएर त्यो मान्छेलाई न्यायाधीश बनाउन मिल्छ ? जिल्ला विकास समितिको सभापति न्यायाधीश नियुक्ति गरेर ल्याउन मिल्छ ? कानून मन्त्री भएको व्यक्तिलाई महान्यायाधीवक्ता नियुक्ति गर्न मिल्छ ? खान पाएँ भन्दैमा जे पनि खाँदै हिँड्ने ? त्यो गर्न मिल्छ ?’, खतिवडाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूप्रति हाम्रो आशंका कहाँ हो भने प्रेसमाथि अट्याक हुन थाल्यो, कानूनी राज्यमाथि अट्याक हुन थाल्यो, सम्पत्ति सुद्धीकरण प्रधानमन्त्रीले किन लिनु पर्‍यो ? वाइड बडी काण्डमा पहिलाको पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारी दोषी हुनुहुन्न थियो भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । यो कुरा ठीक हो । किन भने प्रधानमन्त्री आफै वाइड बडी काण्डमा दोषी हुनुहुन्थ्यो । वाइड बडीमा शेरबहादुर देउवाको संलग्नता छ भने प्रमाण ल्याउनुस् अहिले दुई तिहाइको कम्युनिस्ट सरकार छ कारबाही गरेर देखाउनुस् । प्रधानमन्त्रीले वाइड बडीमा गरेको काण्डमा समर्थन गर्न नपाउने !?’

‘कांग्रेसले भ्रष्टाचारीलाई बचाउन चाहँदैन । कारबाही गरेको छ । नेकपाको महासचिव बालुवाटार जग्गा काण्डमा पर्नुभएको छ । उहाँलाई कारबाही हुँदैन बरु संरक्षण भएको छ’, उनले भने, ‘सबैभन्दा ठूलो भ्रष्टाचारी भनेर खुला मञ्चबाट भनेको बामदेव गौतमले हो ।’

Published : Thursday, 2019 May 23, 7:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया