गर्व महसुस हुने गरी काम गर्नुस्ः आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताएका छन् ।

महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार निर्देशन दिँदै खनालले जिम्मेवार भएर काम गर्न सुझाव दिएका हुन् ।

‘संगठनको हालको रणनीति कस्तो छ र प्रहरीले कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न तथा राजधानीको सुरक्षा व्यवस्थालाई नमुना रुपमा विकास गरी थप प्रतिफल प्राप्त गर्नुपर्छ’, उनले भनेका छन् ।

प्रहरी महानिरीक्षक खनालले हरेक प्रहरी कर्मचारीले संगठनको सोच र नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने चर्चा गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरीकसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

राजधानी आउन सक्ने विषम परिस्थितलाई कुनैपनि त्रुटी हुन नदिई उचित तवरले समाधान गर्नुपर्ने भएकोले कानून कार्यान्वयनमा कठोरता र विवेकपूर्ण निर्ममता अपनाई उच्च मनोबलका साथ काम गर्न उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

आइजीपी खनालले प्रहरीको हरेक गतिविधिले समाजमा सन्देश दिने र एउटा प्रहरीले गरेको नराम्रो कामले सिंगो संगठनमा आँच आउने हुँदा बदमासी कार्य गर्न प्रहरीलाई कुनै छुट नहुने चर्चा गरे ।

‘गलत नियतमाथि कुनैपनि छुट छैन, त्यस्ता व्यक्ति प्रहरी संगठनमा अटाउन पनि सक्दैनन्’, उनले भने ।

विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा तथा नागरिकसंग प्रत्यक्ष सहकार्यमा गर्ने प्रहरी स्मार्ट हुनुपर्ने भएकोले बोली, वचन, व्यवहार लगायत क्रियाकलाप स्मार्ट, चुस्त, दुरुस्त र नमुनायोग्य हुनेपर्नेमा समेत प्रहरी महानिरीक्षक खनालले बताए ।

प्रहरीको बर्दी लगाएर राष्ट्र र नागरिकको सुरक्षा गरी देशको सेवा गर्न पाउने अवसर प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘योभन्दा ठूलो सेवा अरु कुनै छैन्, हामीले गर्व गर्ने ठाउँमा जागिर खाएका छौँ, यसमै आन्नद लिनुस् ।’

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने कार्यलाई तिव्रता दिइएको, विगत ६ महिनाको अवधिमा मादक पदार्थ नष्ट र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको, बेरुजु फर्छौटमा नेपाल प्रहरी उत्कृष्ट हुन सफल भएको, राजधानीमा पेशेवर अपराधीबाट हुने आपराधिक गतिविधि नियन्त्रणमा आएको लगायतका विषयमा जानकारी गराए ।

Published : Thursday, 2019 May 23, 5:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया