उत्ताउला कम्युनिस्टहरूको अवस्था पञ्चायत जस्तो हुन्छः रामचन्द्र पौडेल

महेन्द्रनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधी हालसम्म पनि पक्राउ हुन नसक्नु गम्भीर विषय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले निर्मला पन्त बलात्कार र हत्या घटनामा ठूलाबडाको संलग्नता रहेकाले अनुसन्धान नै प्रभावकारी हुन नसकेको बताए ।

१० महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलत्कारी र हत्यारा पक्राउ परेको छैन ।

‘घटनामा ठूलाबडाको संलग्नता रहेकाले अपराधी जोगाउन अनुसन्धानलाई भद्रगोल बनाइएको हो’, उनले भनेका छन्’, ‘पत्ता लाग्न नसक्ने कुरै थिएन, अनुसन्धानमा सुरुदेखि नै लापरबाही गरियो ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले बिहीबार बिहान निर्मला पन्तको घर भीमदत्त नगरपालिका–२ उल्टाखाम पुगेर उनकी आमा दुर्गादेवी पन्तलाई भेट गरी निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिने कुरामा कांग्रेसले कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका थिए ।

पौडेलले निर्मलाका हत्यारा पत्ता लगाउन राज्यले कमिटमेन्ट अनुसार अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन् । ‘यो राष्ट्रकै लागि लज्जास्पद कुरा हो’, उनले भने ।

नेता पौडेलले सरकारले बहुमत छ भन्दैमा मनपरी गर्न थालेको आरोप लगाए । ‘सरकारले मनपरी गरे कडा रूपमा कांग्रेस विरोधमा उत्रनेछ’, उनले भने, ‘सरकारले जथाभाबी गरे पञ्चायतकै जस्तो हालत हुन्छ, बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन ।’

सरकार असंहिष्णु बन्दै गएको आरोप लगाउँदै नेता पौडेलले सरकारका गतिविधि हास्यास्पद भएको बताए ।

आफू कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा कार्यकर्ता भेटघाटमा निस्केको नभई कांग्रेसको प्रजातन्त्र र समाजवादको विचारधारालाई कार्यकर्ता माझ पु¥याउन र पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने अभियानमा जुटेको बताए ।

‘कांग्रेसले कांग्रेसलाई हराउने नराम्रो परिपाटी पार्टीमा देखापरेको छ’, उनले भने, ‘पार्टीमा अन्तरघात हुनेगर्छ, जसका कारण पार्टी कमजोर भएको हो ।’

नेता पौडेलले पार्टीमा अनुशासन कायम गर्नुपर्ने तर अनुशासनको नाममा नेतृत्वले कार्यकर्तामाथि न्यायपनि गर्नुपर्ने उल्लेख गरेका छन् ।

Published : Thursday, 2019 May 23, 4:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया