बामदेवले लिए ओलीसँग बदला, विज्ञप्तिले बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालयका सदस्य बामदेव गौतमले नेपाल सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

गौतमले बिहीबार विज्ञप्ति जारी गरेर उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता आफूले देखेको बताएका छन् ।

‘सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु’, उनले भने, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपियाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन ।’

‘यद्यपि, समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु’, उनले भनेका छन् ।

‘स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन् । बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन्’, नेकपाका प्रभावशाली नेता गौतमले भनेका छन्, ‘त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो ।’

‘प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ’, उनले भनेका छन्, ‘तसर्थ, हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

‘कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मी मित्रहरूलाई पनि हार्दिक अनुरोध गर्दछु’, गौतमले भनेका छन् ।

मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै कम्युनिस्ट सरकारको चौतर्फी विरोध भइरहेका बेला नेकपाका प्रभावशाली नेता गौतमले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई असर पर्ने गरेर विज्ञप्ति जारी गरेका छन् ।

गौतमको विज्ञप्तिलाई लिएर प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा चर्चा भएको छ ।

Published : Thursday, 2019 May 23, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया