कम्युनिस्ट नेता माधव नेपालको २२ वर्षदेखिको धन्दा (भिडियो)

काठमाडौं । क्रिश्चियन धर्मको प्रचार प्रसारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत २२ वर्षदेखि सम्पर्कमा रहेको खुलासा भएको छ ।

तत्कालीन नेकपा (एमाले)को महासचिव भएदेखि नै नेता नेपाल युनिफिकेसन चर्चको प्रचार प्रसारमा सक्रिय रहेको रिपोर्ट कान्तिपुर टेलिभिजनले देखाएको छ । नेता नेपालले युनिफिकेसन चर्चलाई फाइदा हुने गरेर नेपालमा गतिविधि गरेको आरोप कान्तिपुर टिभीले लगाएको छ ।

नेता नेपालले युनिफिकेसन चर्चका एसिया प्रमुख डा.क्रिस्टोफर किम दम्पत्तीसँग २०५३ साल साउनमा काठमाडौंस्थित आफ्नै घरमा भेटेका थिए । त्यसपछि लगातार २२ वर्षदेखि नेता नेपाल आफ्नो पदीय हैसीयत भुलेर युनिफिकेसन चर्चको सम्पर्कमा रहनुका साथै पूर्वप्रधानमन्त्रीको हैसियतमा जानै नहुने कार्यक्रममा समेत पुगेको खुलेको छ ।

नेता नेपाल नौ वर्षमा २५ वटा कार्यक्रममा युपिएफको कार्यक्रममा भाग लिन विदेश गएको खुलासा भएको छ । उनी पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुने गरेको खुलेको छ ।

युनिफकेशनको चर्चको काठमाडौं सम्मेलनको विजय उत्सवमा पनि नेता नेपाल सहभागी भएका छन् ।

युनिफिकेशन चर्चको कार्यक्रममा सहभागी हुन अमेरिका जाने क्रममा २०७३ मंसिर १८ गते नेता नेपालकी पत्नी गायत्री आचार्यलाई टर्कीको स्तानबुल विमानस्थलमा सोधपुछ गर्नुका साथै त्यहाँको प्रहरीले केही समय नियन्त्रणमा राखेको थियो ।

युनिभर्सल पिस फाउन्डेसन (यूपीएफ) को आयोजनामा एसिया प्रशान्त सम्मेलन हुने घोषणालगत्तै नेपालमा यो सम्मेलनलाई लिएर विवाद र आलोचनाको शृंखला शुरु भइसकेको छ । नेता नेपालकै आग्रह र दवावमा कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले उक्त सम्मेलनको सहआयोजकमा नेपाल सरकारलाई राखेका थिए ।

यूपीएफ आफैँमा विवादास्पद संस्था हो । नाम राजनीतिकजस्तो सुनिए पनि यो संस्थाले खास गरी धार्मिक कार्य गर्छ । यो संस्था इसाई सम्प्रदाय युनिफिकेसन चर्चसँग सम्बन्धित संस्था हो ।

यूपीएफको कार्यक्रममा सहभागी हुन आएका राष्ट्र प्रमुखहरूको भ्रमणलाई सरकारले द्विपक्षीय मान्यता दिएको थियो ।

विज्ञहरूले सरकारी कोषबाटै खर्च गराउनका लागि मात्र धार्मिक आईएनजीओका पाहुनालाई औपचारिकता दिइएको बताएका छन् । हुन पनि औपचारिक भ्रमणको सम्पूर्ण खर्च राज्यकोषबाट बेहोरिन्छ ।

यूपीएफको कार्यक्रममा आउने सात जना विशिष्ट पाहुनाको स्वागत उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेले गरेका थिए ।

यतिले मात्र नपुगेर सम्मेलनमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलरसहित ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ दिइयो ।

सत्य माता हाक जा हान मुनले करिब १५ सय जनालाई पवित्र रक्सी छर्केर आशीर्वाद पनि दिइन् । कार्यक्रममा सम्बोधन गर्दै उनले आफू जिससको छोरी भएको दाबी गरिन् ।

‘ममार्फत आशीर्वाद लिएन भने कुनै पनि मानव ईश्वरको भक्त हुन सक्दैन,’ उनले भनिन्, ‘मेरो आशीर्वाद लिनेले ईश्वरको आशीर्वाद स्वतः प्राप्त गर्छ ।’

उत्तर कोरियामा पर्ने एक गाउँमा सन् १९२० मा सुन म्युङ मुन जन्मेका थिए । १० वर्षको हुँदा उनको परिवार प्रेस्बेटरियन चर्चमा प्रवेश गर्यो ।

युनिफिकेसन चर्चको मान्यताअनुसार सन् १९३५ मा उनलाई जिसस क्राइस्टले दर्शन दिए र पृथ्वीमा स्वर्गको राज्य स्थापना गर्ने आफ्नो अधुरो जिम्मेवारी पूरा गर्ने दायित्व प्रदान गरे ।

मुन सन् १९४१ मा जापान गए र त्यहाँको वासेदा युनिभर्सिटीमा अध्ययन गरे । दुई वर्षपछि घर फर्केर उनले सुन किल चोईसँग विवाह गरे । सन् १९४६ मा पत्नी र बच्चालाई छोडेर उनी प्योङयाङ गए र धर्म प्रचार गर्न थाले ।

उत्तर कोरियाको कम्युनिस्ट सरकारले मुनलाई गिरफ्तार गर्‍यो । दक्षिण कोरियाली जासुस भएको आरोपमा उनलाई पाँच वर्ष सश्रम कारावासको सजाय दिइएको थियो ।

कोरिया युद्धको अन्त्यतिर उनी उत्तर कोरियाबाट भाग्न सफल भए । सन् १९५२ मा पत्नीसँग सम्बन्ध–विच्छेद गरेका उनले १९५४ मा सोल पुगेर युनिफिकेसन चर्चको स्थापनापछि आफूलाई मसिहा घोषित गरे ।

एक वर्षभित्रै उनका अनुयायीले ३० वटा चर्च खडा गरे । त्यसपछि उनले ‘द डिभाइन प्रिन्सिपल’ नामक पुस्तक लेखे । यसमा उनको धार्मिक सम्प्रदायबारे व्याख्या गरिएको छ ।

४० वर्षको उमेरमा मुनले सन् १९६० मा हाक जा हानसँग विवाह गरे । उनी त्यतिबेला मात्र १७ वर्षकी थिइन् । त्यसपछि उनी युनिफिकेसन चर्चकी सहसंस्थापक बनिन् ।

त्यसै वर्षदेखि उनीहरूले आफूलाई ‘सत्य अभिभावक’ घोषित गरे। उनीहरूका सन्तानलाई ‘सत्य सन्तान’ र उनीहरूको परिवारलाई ‘सत्य परिवार’ भन्न थालियो । कालान्तारमा उनले १४ जना सन्तान जन्माइन् ।

Published : Wednesday, 2018 December 12, 4:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया