काठमाडौंमा सजाइए चारतारे झण्डा, दुलही झैँ बन्यो सडकहरू
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको लागि तयारी शुरु भएको छ । देशका सबै जिल्लाबाट आउने महासमिति सदस्यहरूको स्वागतका लागि काठमाडौं उपत्यका दुलही झै सिंगारिएको छ ।
काठमाडौंको रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक हुनेछ । बैठकका लागि सबै तयारी गरिएको छ ।
महासमिति बैठकमा करीव १ करोड खर्च हुने अनुमान गरिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकका लागि काठमाडौं जिल्लाका सभापति सबुज बानियाँलाई तयारी समितिको संयोजक तोकिएको जानकारी दिए ।
पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमिति बैठक तोकिएको समयभित्र हुने जानकारी दिए ।
‘महासमितिको बैठक रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा हुनेछ’, उनले भने, ‘धमाधम तयारी भएको छ । देश र विदेशबाट प्रतिनिधिहरू आउने क्रम शुरु भैसकेको छ ।’
महाधिवेशन प्रतिनिधिहरूको स्वागतका लागि काठमाडौंका प्रमुख चोक र सडकहरूमा नेपाली कांग्रेसको झण्डा राखिएको छ । कांग्रेसको चारतारे झण्डाले महासमिति बैठकमा आउने सदस्यहरूको स्वागत गरिनेछ ।
महासमिति बैठकमा नेपाली कांग्रेसको विधान संशोधनको प्रस्ताव पेश हुनेछ । बैठकमा राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेश हुनेछन् ।
कांग्रेसले आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरिसकेको छ । राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म हुनेछ ।
महासमिती बैठक राख्नु पार्टी लाई नयाँ सिरा बाट अघि बढ्न र नयाँ कार्यनिती ल्याउन हो तर यो बैठक लगत्तै नेबि संघ को महाधिवेशन लाई पनि पुर्णता दिननसके नयाँ पुस्ता मा काङ्ग्रेस पुग्न सक्दैन।जय नेपाल