ओलीको अधिनायकवाद भत्काउन ‘नायक’ बनेर आए यी युवाहरू

काठमाडौं । खड्गप्रसाद ओलीको कार्यशैलीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरू केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन् ।

ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई भेट्न समेत समय दिएनन् । समय नपाएपछि २२ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर सिंहदरबारमा बुधबार महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरिएको छ । पोलिटव्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी समितिलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउन माग गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

हालै सचिवालयका नाममा गरिएको प्रादेशिकस्तरको कार्यविभाजनले पक्षपातको सीमा नै नाघेको आरोप २२ भाई केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन् ।

मन्त्री चयनदेखि राजनीतिक नियुक्तिहरूमा कुनै विधि र पद्धति पालना नभएको उनीहरूले आरोप लगाएका छन् । संसदीय दल बैठकलाई केही नेताको भाषण सुनाउने थलो बनाएको भन्दै उनीहरूले विरोध गरेका छन् ।

सरकारले सुशासनको क्षेत्रमा सरकार सर्वत्र आलोचित भएको २२ केन्द्रीय सदस्यहरूको आरोप छ । भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा कायम जस्ता विषयमा सरकार कामजोर भएको भन्दै नेताहरूले सरकारमाथि सबैको भरोसा टुट्ने त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सरकार मात्र होइन, राष्ट्रप्रमुख र उपप्रमुख पनि सुविधाभोगको लपेटामा वेरिदै गरेको दुःखदायी स्थिति प्रकट भइरहेको छ ।’

ज्ञापनपत्र बुझाउने २२ केन्द्रीय सदस्यहरू पूर्वएमालेभित्र माधवकुमार नेपाल गुटका युवा नेताहरू छन् । ज्ञापनपत्र बुझाउनेमा डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, विजय गुरुङ, ठाकुर गैरे, सत्रुघन महतो, जयन्ती राई, निरज आचार्य, ममता गिरी, तुलबहादुर गुरुङ, माधव अर्याल, विजय गुरुङ लगायत छन् ।

Published : Wednesday, 2018 November 21, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया