एमालेसँग अलग कार्यक्रम गरेकै दिन प्रचण्डको पार्टीका नेताले बनाए नयाँ दल

काठमाडौं । एमालेसँग पार्टीलाई बिलय गराउन लागेको भन्दै विद्रोह गरेका नेकपा (माओवादी केन्द्र)का नेता विश्वभक्त दुलाल ‘आहुती’ ले नयाँ पार्टी गठन गरेका छन् ।

दुलालले कम्युनिस्ट नेता कार्ल मार्क्सको द्विशतवार्षिकी जयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ घोषणा गरेका हुन् । नयाँ पार्टीको संयोजक दुलाल आफै रहेका छन् ।

पहिला जनमोर्चा र पार्टी एकतापछि माओवादी केन्द्रमा रहेका अगुवा दलित नेता दुलालले माओवादी केन्द्रले असोज १७ गतेदेखि एमालेसँग पार्टी एकताको प्रक्रिया सुरु गरेपछि असन्तुष्टि जनाउँदै आएका थिए ।

संयोजक दुलालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ ।’

नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरेर अर्का नेता गोपाल किरातीले यसअघि नै माओवादी पुर्नगठन गरिसकेका छन् ।

एमालेसँग माओवादी केन्द्रले पार्टी एकीकरणको प्रयास थालेसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असर पर्ने गरेर दुलाल र किरातीले सानो समूह भएपनि चुइटाएर अलग पार्टी बनाएका छन् । यसले कम्युनिस्टहरू मिलेर बस्न सक्दैनन् भन्ने संकेत गरेको विश्लेषण हुन थालेको छ ।

Published : Saturday, 2018 May 5, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया