एमालेभित्र मेराविरुद्ध के भएको छ थाहा पाएको छुः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गर्न नदिन विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

लेनिन जयन्ती एवम् नेपाली कम्युनिष्ट पार्टी स्थापना भएको सन्दर्भमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता भएर छाड्ने बताए ।

‘वैशाख ९ गते पार्टी एकता गर्ने भनेरमा हामीले भनेकै थिएनौँ’, उनले भने, ‘हेर्दै जानु होला तपाईले नसोँचेको समयमा पार्टी एकीकरण हुनेछ ।’

पार्टी एकता हुन नदिन आफूलाई विभिन्न समूहले पार्टी एकीकरण नगर्न दवाव दिइरहेको दाहालले बताए । ‘मेरो कान यताबाट पनि भर्ने, उताबाट पनि भर्ने भयो भने पार्टी एकता हुँदैन । म पनि मान्छे हुँ’, उनले भने, ‘केपी ओलीजीलाई पनि त्यो हुन्छ होला ।’

ठूलो पार्टी एमाले हो भन्ने केपी ओलीसहितका नेताहरूले दिने गरेका अभिव्यक्तिप्रति व्याङग्य गर्दै अध्यक्ष दाहालले भने, ‘ठूलो पार्टी हुनुको पीडा माओवादीलाई छ । अहिले सानो हुनुको पीडा पनि छ । त्यो कुरा एमालेलाई पनि भएको हुनुपर्छ ।’

एमालेप्रति लक्षित गर्दै अध्यक्ष दाहालले ठूलो पार्टी हुँदैमा दम्भ गर्न नहुने बताए । आफ्नाविरुद्ध एमालेभित्र हुने गरेका षड्यन्त्रको कुरा सुनेको बताएका दाहालले भने, ‘त्यो सानो पार्टी माओवादीलाई किन मिसाउने ? किन पद दिने ? यो परिवर्तन त एमालेले गरेको हो भनेर उचाल्ने काम पनि भएको छ ।’

Published : Sunday, 2018 April 22, 5:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया