बाम गठबन्धनभित्र यस्तो भएको रहेछ सहमति, के भन्छन् प्रचण्ड ?

नारायणगढ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भने, ‘सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।’ पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उनले बताए ।

पाँच दलको शुक्रबार बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताए ।

उनले भने, ‘यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ ।’

राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रूपमा विद्यमान रहेको बताए । यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उनले जानकारी दिए ।

सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय हुन् भन्दै उनले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताए । उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।’

Published : Friday, 2017 December 22, 6:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया