राप्ती गाउँपालिकाको सबैभन्दा ठूलो वडा, रावतले लिए कमाण्ड

काठमाडौं । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । राप्ती गाउँपालिकामा ९ वटा वडा छन् ।

९ वडामध्ये ५ वटामा कांग्रेस विजयी भएको हो । माओवादी केन्द्रले ३ र एमालेले १ वटा वडामा जित हासिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा नुमानन्द सुवेदी र उपाध्यक्षमा जगदम्बा चौधरीले कांग्रेसको तर्फबाट जित हासिल गरेका हुन् ।

गाउँपालिकको सबैभन्दा ठूलो वडा ५ नं. हो । यो वडामा कलापानी, लठ्हवा, पहरुवा, प्रगतिनगर बजार, भुल्के, करङ्गे, चित्रिकोट, थकरीकोट, पुनखोला, घोङले आँप, तल्लो करङगे र सिङ्गे गाउँ पर्छन् । यी १२ वटा गाउँलाई मिलाएर विकासका कार्यक्रम चलाउनु पर्ने ठूलो चुनौती रहेको छ । केही गाउँहरू बिकट पहाडी क्षेत्रमा पर्छन् । उनले वडामा रहेको बिकटतालाई ध्यानमा राखेर ती गाउँका सर्वसाधारणहरूको सेवामा छिटोछरितो काम गर्ने समेत बताए ।

५ नं. वडामा कांग्रेसका युवा नेता गोवर्धन रावतले जितेका छन् । पहिलाको गाविसको आकारमा रहेको क्षेत्रफल जत्रो वडालाई चलाउनु रावतका लागि कठिन छ । तर, उनले ती सबै गाउँहरूमा भेदभाव नगरी विकास र आर्थिक उन्नतीका कार्यक्रम चलाउने बताउँछन् ।

‘प्रगतिनगर बजारमा वडा कार्यालय छ । यहीबाट जनतालाई सेवा दिने हो’, उनले भने, ‘हाम्रो वडामा आउने बजेट कार्यान्वयनमा कुनै पनि प्रकारको समस्या छैन ।’

तपाईका कार्यक्रमहरू कस्ता खालका छन् भन्ने प्रश्नमा वडाध्यक्ष रावत भन्छन्, ‘बाटोघाटो, ग्राभेल, खानेपानी, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, विपन्न परिवारको जीवनस्तर उकास्ने र आत्मनिर्भर बनाउनेमा केन्द्रित रहनेछु’, रावतले भने, ‘वडामा आउने सीमित बजेट र साधन स्रोतलाई अधिकतम प्रयोग गर्ने योजना बनाएको छु ।’

युवापुस्तालाई सहि बाटो देखाउने आफ्नो उदेश्य रहेको बताएका वडाध्यक्ष रावतले भने, ‘समाजमा रहेका सबै तहतप्कालाई मिलाउनु पनि मेरो प्रमुख दायित्व हो । वडामा सामाजिक सद्भाव समेत बनाइ राख्नुछ । विकासका कार्यक्रममा गाउँलेहरूको हातेमालो मेरो प्रमुख काम रहनेछ ।’

गाउँको विकासका लागि स्थानीयको सहयोग रहनुपर्ने उनी बताउँछन् । ‘म एक्लैले गरेर केही हुँदैन’, उनले भने, ‘मलाई भोट दिएका र नदिएका सबै मतदाता गाउँलेहरूलाई मिलाएर विकास र गाउँ निर्माणमा लगाउन सकेँ भने मेरो सफलता त्यसैमा रहनेछ ।’

Published : Friday, 2017 October 13, 10:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया