सुन तस्कर चिनियाँ नागरिकलाई निजामती कर्मचारीद्वारा नेपाली नागरिकता बिक्री
काठमाडौं । प्रहरीले चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले अर्याललाई हेटौँडाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा अर्याल तत्कालीन समयमा नायब सुब्बामा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधबार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए । प्रहरीले अर्याललाई काभ्रे लगेको छ ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ ।
अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो ।
छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए ।
दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
उप–सचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया