प्रचण्डका कारण गण्डकीमा मध्यावधिको सम्भावना, कांग्रेसका पाण्डेले त्यता जान नदिने

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खाली जनताको मतको अपमान गरेको बताएका छन् ।

शुक्रबार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै पाण्डेले निर्वाचनको समयमा दाहालले गोरखाली जनतासँग गरेका वाचाहरू सबै झुठा सावित भएको बताए ।

उनले भने, ‘गोरखा क्षेत्र नम्बर २ त्यसमा पनि विशेष गरी २ को २ मा जाँदा त्यहाँको जनतालाई भन्नुहुन्छ के ?’

‘चुनावको बेला पाँच वर्षसँगै हिंड्छु । सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउँछु गण्डकी प्रदेशको र म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा भन्नुभएको थियो’, उनले भने ।

‘५० ठाउँमा बोल्दा ४९ ठाउँमा भन्नुभयो होला यो कुरा, छुट्यो होला एक/दुई ठाउँमा । किन जान सक्नुभएन पाँच वर्ष ? किन जान प्रयत्न गरिएन ?’, पाण्डेले दाहाललाई प्रश्न गरेका छन् ।

‘आर्थिक राजनीतिक रुपले हरेक परिस्थितीमा देश अस्थिर बन्न थाल्यो भने त्यो थाम्ने देशको मुलीले हो’, उनले भने, ‘देशको मुलीले खुलेआम भन्छ म बाचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ, स्थिरता म हुनै दिन्न, अनि यो मुलुकको भविष्य के हुन्छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना बढेको बताएका छन् । उनले संघमा बनेको गठबन्धन अघि बढे गण्डकी प्रदेशमा कुनै पनि पार्टीको सरकार बन्न नसक्ने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले भने, ‘कुनै पार्टीको बहुमत पुग्न सक्दैन, कुनै पनि सरकार बन्न नसकेपछि फ्रेस म्यान्डेड नै हो, म त्यता जान चाहन्न । म सकेसम्म त्यसलाई रोक्न प्रयत्न गर्छ ।’

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग कम्युनिस्ट गठबन्धन बनाएपछि गण्डकी प्रदेशमा मध्यावधिको सम्भावना बढेर गएको छ ।

Published : Friday, 2024 March 8, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया