निराको हत्यामा संलग्न विनोदको यस्तो थियो बिगतको उचार चढाव

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले निरा पाण्डे आचार्यको हत्या अभियोगमा विनोद विश्वकर्मालाई सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सीआईबीले निराको हत्यामा संलग्न रहेको अभियोगमा विनोदलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । सीआईबीले विनोदलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने बाग्लुङको बडीगार्ड गाउँपालिका–५ घर भएकी ३५ वर्षीया निराको हत्या भएको थियो ।

निराको हत्यामा संलग्न रहेको अभियोगमा झापाको मेचीनगर नगरपालिका–१० घर भई भक्तपुरको भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित ‘निरू किचेन एण्ड गिफ्ट स्वभिनर’ पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारिएको थियो ।

निरालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका–१ ईलाम बस स्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । हत्यामा संलग्न रहेका विनोद झापामा शुरुका दिनमा बाउन्सरको काम गर्दै आएका थिए । उनलाई जुवा खेल्ने तल पनि लागेको थियो । उनले जुवा खेल्न विभिन्न व्यक्तिबाट दुई लाख रुपियाँ ऋण समेत लिएको प्रहरीले जनाएको छ ।

जुवा खेल्न लिएको ऋण नतिर्दासम्म घरमा नआउनु भनेर घरपरिवारले निकाला गरिदिएका थिए । विवाहित विनोद अर्कै पर–महिलासँग सम्पर्कमा रहेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

झापाबाट काठमाडौं छिरेका विनोदले केही समय बाउन्सरको काम गरेका थिए । पछिल्लो समय उनलाई खान र बस्न समेत समस्या भएपछि अपराधमा संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

निराको हत्या गर्नुभन्दा अगाडि सामान किन्ने बहाना बनाएर विनोद पसलमा छिरेका थिए । पछि पैसा निकाल्न एटीएम जान्छु भनेर गएका विनोद केही समयपछि फर्केर आएपछि निराको सुनको सिक्री खोस्न खोजेका थिए । निरा कराउन खोजेपछि विनोदले मुख थुनेर पसलमा रहेको धारिलो हतयार प्रहार गरेका थिए ।

प्रहरीले निराको हत्यामा प्रयोग भएको हतियार फेला पार्न सकेको छैन । तर, प्रहरीले विनोद बसेको भक्तपुरको कोठाबाट रगत लागेको सर्टका साथै सो दिन लगाएको जुत्ता, झोला लगायतका सामग्री बरामद गरेको छ ।

निरासँग लुटेर लगेको विनोदले सुनको सिक्रीलाई सुन पसलमा बिक्री गरेका थिए । त्यो सिक्री प्रहरीले फेला पारिसकेको छ । लुटेको सिक्री ५५ हजारमा बालाजु स्थित तार्केश्वर पाथीभरा सुनचाँदी पसलमा बेचेको भेटिएको छ । सो सिक्री प्रहरीले बरामद गरेको छ । निरालाई छुरा प्रहार गरेर गम्भीर घाइते बनाएपछि विनोदले पसलमा रहेको करीव ११ सय रुपियाँ पनि निकालेर लगेका थिए ।

प्रहरीका अनुसार विनोदनले निराको हत्या गरेको स्वीकार गरेका छन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2023 April 30, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया