कांग्रेसको काठमाडौं ६ को अधिवेशनबाट सभापतिमा बस्नेत सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनबाट सरोजकुमार बस्नेत क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार टोखा नगरपालिका–८ मा सम्पन्न अधिवेशनले बस्नेतलाई सभापतिमा निर्वाचित गरेको हो । अधिवेशनले ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत निर्वाचित गरेको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेता सिंहले तथाकथित विशेष महाधिवेशनको आलोचना गर्दै गगन थापाहरूले पार्टीलाई विभाजन तर्फ लगेको बताए । उनले विदेशी षड्यन्त्रका कारण गगन थापालाई विशेष महाधिवेशन गर्न लगाएर पार्टीलाई कमजोर बनाइएको आरोप लगाए ।

नेता प्रधानले गगन थापाको सभापति बन्ने आकांक्षाका कारण नेपाली कांग्रेसले इतिहासमै नराम्रो पराजय बेहोर्नुपरेको बताए । उनले पार्टीको पछिल्लो राजनीतिक अवस्था र चुनावी परिणामलाई विशेष महाधिवेशन तथा नेतृत्वको आकांक्षासँग जोड्दै आएको बताए ।

अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि कल्याण रिजाल, नेपाली कांग्रेस काठमाडौं जिल्ला संयोजक जयकृष्ण महर्जनलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेस नेता कृष्णमान श्रेष्ठलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Published : Friday, 2026 October 16, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया