लुम्बिनीमा मन्त्री बन्ने सूचीमा क–कसको नाम ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदको शथप लिएसँगै नयाँ मन्त्रीहरूको चर्चा शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसलाई ४ वटा मन्त्रालय र एक राज्यमन्त्री पर्नेछ । माओवादी केन्द्रले ३ वटा मन्त्रालय पाउने सम्भावना छ । संभवत मन्त्रालयको संख्या पनि बढाउने सम्भावना छ ।

कांग्रेस, माओवादीसहित ८ दल र एक स्वतन्त्र सांसद गठबन्धनमा सहभागी छन् ।

कांग्रेसबाट लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालको मन्त्री बन्ने सम्भावना छ । खनाल दाङबाट निर्वाचित प्रदेश सांसद हुन् ।

रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना, प्रमुख सचेतक समेत रहेका बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), रुपन्देहीका बसिउद्दिन खाँ, बाँकेकी सञ्जु चौधरी, बर्दियाका भुवनेश्वर चौधरी, पश्चिमनवलपरासीका बैजनाथ कलवारको पनि मन्त्री बन्ने सूचीमा नाम चर्चामा छ ।

माओवादीबाट धनबहादुर मास्कीले मन्त्री पदको शपथ लिएका छन् । उनले आर्थिक मामिला मन्त्रालय पाउने सम्भावना छ ।

माओवादीले मास्कीसहित रोल्पाका दीपेन्द्र पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्री बनाउने तयारी गरिरहेको छ ।

यी दुई बाहेक ६ दल र एक स्वतन्त्र सांसदले महत्वपूर्ण मन्त्रालयमा दाबी गरिरहेका छन् ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले मात्र सरकारमा नजाने जनाएको छ । माओवादीले ३, कांग्रेसले ४ मन्त्रालय लिएपछि बाँकी ३ मन्त्रालयमा ४ सदस्य रहेको नागरिक उन्मुक्ति, ३/३ सदस्य रहेका जसपा, जनमत, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले महत्वपूर्ण मानिएका मन्त्रालय दाबी गरिरहेका छन् ।

शुक्रबार मुख्यमन्त्री र विनाविभागीय रुपमा तीन मन्त्रीले शुक्रबार शपथ लिएका थिए । माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् ।

उनीहरूको मन्त्रालयको टुंगो मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिएपछि लगाउने तयारी छ । चौधरीले सोमबार विश्वासको मत लिएपछि बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिनेछन् ।

यसअघि जनमतबाट सिके गुप्ता, जसपाबाट भण्डारीलाल अहिरल मन्त्रीको टुंगो लागेपनि मन्त्रालयको टुंगो नलागेकाले शपथ लिएनन् ।

मुख्यमन्त्री चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेर शुक्रबार देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

Published : Saturday, 2023 April 29, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया