आफ्नै निर्वाचन क्षेत्रमा सञ्चारमन्त्री शर्माविरुद्ध प्रदर्शन, आक्रोशित युवाद्वारा घेराउ

घोराही । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मालाई आफ्नै निर्वाचन क्षेत्रमा विरोधको सामना गर्नुपरेको छ ।

मन्त्री शर्मा घोराही उप–महानगरपालिकाको नारायणपुर बजारमा मेला उद्घाटन गर्न आएका बेला युवाहरूले प्रदर्शन गरेका हुन् । मन्त्री शर्माले आफ्नै निर्वाचन क्षेत्रमा काम गर्न नसकेको भनेर ५ महिनाभित्रै विरोधको सामना गर्नुपरेको छ । आफ्नै क्षेत्रमा शर्माले तनाब व्यहोर्नुपरेको छ ।

उनीहरूले मन्त्री शर्मालाई लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अलपत्र पारेको भनेर विरोध जनाएका छन् ।

सचेत युवा सञ्जालको ब्यानरमा नारायणपुरका युवाहरूले मन्त्री शर्माविरुद्ध नाराबाजी समेत गरेका छन् । युवाहरूले मन्त्री जस्तो व्यक्ति ४÷५ वर्षदेखि अलपत्र परेको सडक बनाउनतिर केन्द्रित हुनुभन्दा पनि मेला उद्घाटन गर्दै हिँडेको भनेर विरोध गरेका हुन् । जनताको काम गर्नेभन्दा पनि मेला र महोत्सवको उद्घाटन गरेर रमाइलो गर्दै हिँडेको स्थानीय युवाहरूको आरोप छ ।

चारलेन सडकका कारण दाङका जनताले ठूलो समस्या भोग्दै आएका छन् । यो चारलेन सडकमा एमालेले ठूलो राजनीति गर्दै आएको छ । एमाले निकटका ठेकेदारहरूले विगतमा लमही–घोराही–तुलसीपुर चारलेन सडकलाई कमाइ खाने भाँडो समेत बनाएका थिए ।

माओवादी केन्द्रकी नेतृ समेत रहेकी मन्त्री शर्माले आफू चारलेन सडक बनाउने विषयमा गम्भीर रहेको र सरोकारवाला निकायमा दबाब दिइरहेको बताएकी थिइन् । तर, मन्त्री शर्माको कुरालाई स्थानीय युवाहरूले सुनेनन् ।

निर्वाचनका बेला मन्त्री शर्माले लमही–घोराही–तुलसीपुर सडकखण्ड बनाउन पहल गर्ने आश्वासन दिएकी थिइन् । दाङ क्षेत्र नं. २ बाट निर्वाचन भएको ५ महिना भइसकेको छ । शर्मा नेपाल सरकारको प्रवक्ता पनि हुन् । उनले चारलेन सडकका विषयमा सोँचेअनुसारको काम गराउन सकिरहेकी छैनिन् ।

नेपाली कांग्रेसका मतदाताको सहयोगमा माओवादी नेतृ शर्माले दाङ क्षेत्र नं. २ बाट झिनो मतअन्तरले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् ।

मन्त्री शर्मासँगै माओवादीका केन्द्रीय सदस्य निर्माल आचार्य, शर्माकी सल्लाहकार तथा घोराही उप–महानगरपालिकाको मेयर पदमा पराजित हेमराज शर्मालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 April 29, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया